काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी बनाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। उनले प्रत्येक मतदाताले कुनै अवरोधबिना आफ्नो मताधिकार प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने बताएका छन्।

शुक्रबार निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग आयोजना गरेको छलफलमा धारणा राख्दै प्रचण्डले विगतका निर्वाचनमा देखिएका कमजोरी आगामी निर्वाचनमा दोहोरिन नदिन आयोग सचेत हुनुपर्ने बताए।

उनले विगतमा मतगणना, मतपरिणाम सार्वजनिक गर्ने प्रक्रिया र मतपेटिका व्यवस्थापनका विषयमा विभिन्न प्रश्न तथा गुनासा उठ्ने गरेको स्मरण गराए। कतिपय उम्मेदवारले आफूले पाएको मत हराएको, अपेक्षाभन्दा फरक परिणाम आएको र मतपेटिका ओसारपसार गर्दा उम्मेदवारका प्रतिनिधिलाई सहभागी नगराइएको जस्ता गुनासा गर्ने गरेको उनको भनाइ थियो।

यस्ता विषयले निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउने भएकाले आगामी निर्वाचनमा कुनै पनि प्रकारको शंका र अविश्वास उत्पन्न हुन नदिन प्रक्रिया पारदर्शी तथा विश्वसनीय बनाउनुपर्नेमा उनले जोड दिए।

प्रचण्डले अघिल्लो निर्वाचन असामान्य परिस्थितिमा सम्पन्न भएको उल्लेख गर्दै लोकतन्त्रको निरन्तरता र संविधान कार्यान्वयनलाई अघि बढाउन राजनीतिक दल तथा नेताहरूले खेलेको भूमिकाको पनि मूल्याङ्कन हुनुपर्ने बताए। उनका अनुसार निर्वाचनको परिणाममा प्राप्त मत र जित–हार मात्र नभई लोकतान्त्रिक व्यवस्था तथा संस्थागत विकासका लागि दलहरूले गरेको योगदानलाई समेत महत्त्व दिनुपर्छ।

निर्वाचनको समयतालिकाबारे धारणा राख्दै उनले संविधान र कानुनको सीमाभित्र रहेर निर्वाचन सम्पन्न गर्नु उपयुक्त हुने बताए। स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन मङ्सिरमा गर्ने गरी आयोगले प्रस्तुत गरेको प्रस्ताव प्रारम्भिक रूपमा उपयुक्त देखिएको उनको भनाइ थियो। यद्यपि, यसबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेपछि मात्र औपचारिक धारणा सार्वजनिक गर्ने उनले बताए।

विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई पनि प्रचण्डले प्राथमिकताका साथ उठाए। शान्ति सम्झौतापछि पहिलो संविधानसभाको निर्वाचनकै समयदेखि आफूले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने धारणा राख्दै आएको उनले स्मरण गराए।

विदेशमा रहेका नेपालीको मतदान अधिकार कार्यान्वयन गर्न प्राविधिक र कानुनी पक्षमा गम्भीर अध्ययन आवश्यक रहेको उनले बताए। यसका लागि विदेशमा ठूलो सङ्ख्यामा नेपाली नागरिक रहेका मुलुकका सरकारसँग नेपाल सरकारले द्विपक्षीय संवाद र वार्ता गर्नुपर्ने तथा निर्वाचन आयोगले आवश्यक सहजीकरण गर्नुपर्ने उनको सुझाव थियो।

विदेशमा रहेका नेपालीलाई मतदान प्रक्रियामा सहभागी गराउन सके निर्वाचनको विश्वसनीयता बढ्नुका साथै नागरिकको वास्तविक मताधिकार पनि सुनिश्चित हुने प्रचण्डको धारणा थियो।

यसैबीच, निर्वाचन दुई चरणमा गर्ने विषयमा आयोगले प्रस्तुत गरेको प्रस्ताव र सुझावको अध्ययन गरी पार्टीभित्र छलफल गरेपछि मात्रै थप निर्णय लिने उनले स्पष्ट पारे।

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com