काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया संविधान र लोकतान्त्रिक मूल्य मान्यताविपरीत रहेको आरोप लगाएका छन्। उनले सरकार गठनको सुरुवात नै आतङ्क, आगजनी र तोडफोडका घटनाबाट भएको दाबी गर्दै मुलुकको संवैधानिक व्यवस्थामाथि प्रश्न उठाएका छन्।

एमालेको जनवर्गीय सङ्गठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले वर्तमान राजनीतिक परिस्थितिमा संविधान र लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाउने काम भइरहेको टिप्पणी गरे।

उनले राष्ट्रपति रामचन्द्र पौडेलले दबाब र डरका कारण प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए। प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिसकेका व्यक्ति संविधानको मर्मविपरीत प्रधानमन्त्री बनेको र उनकै एकल सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको ओलीको दाबी थियो।

‘अहिलेको सरकार बन्ने सिलसिला असंवैधानिक, अलोकतान्त्रिक, आतङ्कपूर्ण, आगजनी र तोडफोडबाट सुरु भएको हो,’ ओलीले भने।

राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदै उनले संसद् विघटन गरेर लोकतन्त्रको रक्षा हुन नसक्ने जिकिर गरे। लोकतन्त्र जोगाउने नाममा संविधानविपरीत कदम चालिएको भन्दै उनले राष्ट्रपतिको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्दा पनि अदालतले समयमै फैसला नगरेको भन्दै ओलीले न्यायिक प्रक्रियाप्रति असन्तुष्टि जनाए। आफूहरूले अदालतको अवहेलना गर्न नखोजेको स्पष्ट पार्दै उनले मुद्दाको अन्तिम टुङ्गो लगाउनु न्यायालयको जिम्मेवारी भएको बताए।

‘सर्वोच्च अदालतले असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन भयो भनेर हामीले मुद्दा हालेपछि ठिक छ, हराउनुस्, अन्याय गर्नुस् तर फैसला त गर्नुस्,’ उनले भने, ‘तर फैसला नै नगरेर चुप लागेर बस्नुभयो। अहिले पनि मुद्दा छँदै छ।’

ओलीले मुलुकको शासन व्यवस्था संविधान र कानुनअनुसार सञ्चालन हुन नसकेको तथा लोकतान्त्रिक संस्थाहरू कमजोर बन्दै जाँदा सम्बन्धित निकायहरू मौन बसेको आरोप लगाए। राज्यका निकायहरूले आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नसकेको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरे।

राज्य सञ्चालनमा कुनै व्यक्ति वा शक्तिको आदेशभन्दा संविधान र कानुनलाई सर्वोपरि मान्नुपर्ने उनको भनाइ थियो। लोकतान्त्रिक संस्थाहरूको स्वतन्त्रता र संवैधानिक व्यवस्थाको संरक्षण गर्न सबै निकाय जिम्मेवार हुनुपर्ने उनले बताए।

मुलुकलाई संवैधानिक र लोकतान्त्रिक बाटोमा अघि बढाउन युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै ओलीले त्यसका लागि युवाहरू सङ्गठित हुनुपर्नेमा जोड दिए। संविधान र लोकतन्त्रको रक्षाका लागि राज्यलाई जवाफदेही बनाउन युवाहरूले दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com