काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित बनाउन आयोजित नागरिक सुनुवाइमा जेब्रा क्रसिङमा सवारीसाधन नरोक्ने, सार्वजनिक यातायातमा महिला यात्रुमाथि दुर्व्यवहार हुने तथा विद्यालय आसपास ध्वनि प्रदूषण बढाउने गरी मोटरसाइकल चलाउने गरिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।
ट्राफिक प्रहरी प्रभाग गौशाला र काठमाडौं महानगरपालिका वडा नम्बर ९ को संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार आयोजित सुनुवाइमा स्थानीयवासी, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिले ट्राफिक व्यवस्थापनका विभिन्न समस्या उठाएका हुन्।
कार्यक्रममा जेब्रा क्रसिङबाट बाटो काट्ने पैदलयात्रीलाई प्राथमिकता नदिने, सार्वजनिक यातायातमा महिला यात्रु असुरक्षित हुने तथा निर्धारित स्थानभन्दा बाहिर यात्रु चढाउने र ओराल्ने प्रवृत्ति बढेको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सहभागीले आग्रह गरेका थिए।
त्यस्तै, विद्यालय क्षेत्र आसपास चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण विद्यार्थी तथा स्थानीयवासी प्रभावित भएको भन्दै ध्वनि प्रदूषण नियन्त्रणमा कडाइ गर्नुपर्ने मागसमेत उठाइएको थियो।
नागरिकका गुनासा र जिज्ञासाको जवाफ दिँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ट्राफिक व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न प्रहरी प्रतिबद्ध रहेको बताए। तत्काल सम्बोधन गर्न सकिने विषयलाई कार्यान्वयनमा लैजाने र समय लाग्ने समस्यालाई योजनाबद्ध रूपमा समाधान गर्ने उनले स्पष्ट पारे।
सार्वजनिक यातायातमा महिला यात्रुमाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताउँदै काफ्लेले यात्रुको सुरक्षा र सम्मानलाई ट्राफिक प्रहरीको प्राथमिकतामा राखिएको जानकारी दिए।
उनले उपत्यकाको सवारी आवागमनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन एकीकृत स्मार्ट ट्राफिक व्यवस्थापन प्रणाली लागू गर्ने विषयमा अध्ययन तथा समन्वय भइरहेको पनि बताए।
उक्त प्रणाली कार्यान्वयनमा आएपछि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित क्यामेरामार्फत सवारी आवागमनको निगरानी गरिनेछ। साथै, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई प्रविधिको सहायताबाट पहिचान गरी कारबाही गर्ने व्यवस्था मिलाइने काफ्लेले जानकारी दिए।
ध्वनि प्रदूषण नियन्त्रणका लागि चर्को आवाज निकाल्ने तथा मापदण्डविपरीत स्वरूप परिवर्तन गरिएका सवारीसाधनमाथि निगरानी बढाइएको पनि उनले बताए। यस्ता सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारबाही भइरहेको उनको भनाइ थियो।
यसैगरी, गौशाला, चाबहिल, विमानस्थल, तीनकुने र जयबागेश्वरी क्षेत्रमा देखिएका अव्यवस्थित पार्किङ तथा ट्राफिक चिह्नसम्बन्धी समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले जानकारी दिए।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष विमलकुमार हाडा र वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले आ–आफ्नो क्षेत्रको ट्राफिक व्यवस्थापन सुधारका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
नागरिक सुनुवाइमा जनप्रतिनिधि, ट्राफिक प्रहरी अधिकारी, वडा कार्यालयका कर्मचारी, विद्यालयका विद्यार्थी, स्थानीयवासी तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो।
प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार













प्रतिक्रिया