काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नी डा. आरजु राणा देउवाको ज्यान जेनजी युवाहरूले नै बचाएको दाबी गरेका छन्। आन्दोलनका बेला आफूहरू गम्भीर जोखिममा परेको र पछि नेपाली सेनाको सहयोगमा उपचार पाएपछि बाँच्न सफल भएको उनले बताएका छन्।

शनिबार कांग्रेसको देउवा पक्षले आयोजना गरेको गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफू र आरजुमाथि ज्यानै जाने अवस्था सिर्जना भएको स्मरण गरे। उनले आन्दोलनका क्रममा आफूहरूलाई सुरक्षित स्थानमा लैजान हेलिकप्टर अवतरण हुन नसकेको र घर जाने बाटोसमेत अवरुद्ध गरिएको बताए।

‘मेरो श्रीमती आरजु र मलाई मारिसकेका हुन्, हामी बाँचेका हौँ। यहाँ अहिलेसम्म घाउ छ,’ उनले भने, ‘हेलिकप्टर ल्यान्ड गर्न दिएनन्। घर जाने बाटोमा सारा मान्छे बसे। पछि सेनाले गाडी पठाएपछि हामी सेनाको क्याम्पमा बस्यौँ। त्यहीँ मेरो र श्रीमतीको उपचार भयो र हामी बाँच्न सफल भयौँ।’

देउवाले आफूहरूलाई जोगाउन जेनजी युवाहरूले भूमिका खेलेको पनि बताए। तर, जेनजी आन्दोलनको नाममा ५० वर्षभन्दा माथिका व्यक्तिहरूले समेत ढुंगामुढा गरेको उनको आरोप थियो।

‘मलाई जेनजीहरूले बचाएका हुन्। बचाउनेहरू फोटोमा पनि देखिन्छन्। तर, जेनजीको नाममा ५० वर्षमाथिका मानिसहरूले ढुंगामुढा हाने,’ उनले भने।

आन्दोलनका क्रममा भएका घटनालाई सामान्य रूपमा लिन नहुने बताउँदै देउवाले त्यसपछाडि ठूलो षड्यन्त्र रहेको दाबी गरे। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, आफ्नी पत्नी मन्त्री र रमेश लेखक गृहमन्त्री रहेको अवस्थामा भट्टराई निवासमाथि किन आक्रमण गरियो भन्ने प्रश्नसमेत उनले उठाए।

उनले आन्दोलनका क्रममा बीपी कोइरालाका बुबाले बनाएको घरदेखि गणेशमान सिंहको घरसम्म तोडफोड तथा आक्रमण भएको स्मरण गराए। देशका विभिन्न स्थानमा रहेका कांग्रेसका पार्टी कार्यालयमाथि पनि आक्रमण गरिएको उल्लेख गर्दै देउवाले यी घटनालाई कांग्रेसविरुद्धको षड्यन्त्रका रूपमा बुझ्नुपर्ने बताए।

‘देशभरि पार्टी अफिसमा हानियो। यो कांग्रेसको खिलाफको षड्यन्त्र हो भन्ने बुझ्नुपर्दछ,’ उनले भने।

प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com