काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले वर्तमान सरकारविरुद्ध आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताएका छन्। उनले आन्दोलनका क्रममा बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध कडा प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन्।

नेशनल भोलिन्टियर फोर्सको प्रथम स्थापना दिवस तथा राजधानी प्रदेशस्तरीय कमिटी घोषणा कार्यक्रममा बोल्दै बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको घोषणा गरेको दिन एमालेका युवा कार्यकर्ता सडकमा उत्रिने दाबी गरे। कार्यक्रममा एमाले अध्यक्ष ओली पनि उपस्थित थिए।

‘जब आन्दोलन घोषणा हुनेछ, हाम्रो पार्टीका श्रद्धेय अध्यक्षको मुखबाट आन्दोलन भनेर घोषणा भएको दिन यो युवा पङ्क्तिले देश कब्जा गर्नेछ र बालेनलाई सिंहदरबारबाट घिसारेर माइतीघर मण्डलामा ल्याउनेछ,’ उनले भने।

बस्नेतले वर्तमान सरकार अधिनायकवादी र प्रतिशोधपूर्ण शैलीमा अघि बढिरहेको आरोप लगाए। लोकतन्त्रलाई सही बाटोमा ल्याउन तथा भ्रष्टाचार, अनियमितता, घुसखोरी, तस्करी र सरकारी संयन्त्रमा रहेको भनिएको सेटिङविरुद्ध एमाले आन्दोलनको तयारीमा रहेको उनको भनाइ थियो।

उनले २०८२ भदौ २३ र २४ गते भएको घटनालाई विदेशी शक्तिको षड्यन्त्रको संज्ञा दिँदै त्यसमा बालेन्द्र शाह, सुदनलगायतका व्यक्तिहरूको भूमिका रहेको आरोप लगाए। विदेशी संस्थाको प्रयोग र आर्थिक परिचालनमार्फत सरकारी संरचना, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी चौकी, उद्योग तथा राजनीतिक नेताहरूका निजी निवासमा आक्रमण गरिएको उनको दाबी थियो।

उक्त घटनामा एमाले र पार्टी अध्यक्ष ओलीलाई मुख्य निशाना बनाइएको आरोप लगाउँदै बस्नेतले पार्टी अध्यक्षको राजनीतिक योगदानको बचाउ गरे। उनले नाकाबन्दीका बेला लिएको अडान, नेपालको चुच्चे नक्सा जारी गर्ने पहल, उत्तर–दक्षिण नाका विस्तारको अवधारणा, रेल तथा जलमार्गको योजना, सडक पूर्वाधार निर्माण, ऊर्जा उत्पादन र सामाजिक सुरक्षा कार्यक्रमलाई ओली नेतृत्वका महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे।

‘केपी ओलीबिनाको नेपाल बनाउन खोजियो, केपी ओलीबिनाको एमाले बनाउन खोजियो, केपी ओलीबिनाको युवा बनाउन खोजियो, यो सम्भव छैन,’ उनले भने।

ओलीको विकल्प खोज्ने प्रयासलाई पार्टीका कार्यकर्ताले अस्वीकार गरिसकेको दाबी गर्दै बस्नेतले नेतृत्वका विषयमा भ्रम फैलाउने प्रयास सफल नहुने बताए।

बस्नेतले वर्तमान सरकार सुकुम्बासी, बाढीपीडित तथा वैदेशिक रोजगारीमा जाने युवाका समस्या समाधान गर्न असफल भएको आरोपसमेत लगाए। सुकुम्बासीलाई उचित व्यवस्थापन नगरी समस्यामा पारेको भन्दै उनले सरकारको आलोचना गरे।

‘हिजो सुकुम्बासीहरूलाई झुटो आश्वासन दिएको बालेन सरकार, आज सुकुम्बासीहरू सडकमा भनिरहेका छन्– बालेन सरकार, हामीलाई बास दे,’ उनले भने।

त्यस्तै, बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको उनको आरोप थियो। प्रधानमन्त्री राहत कोषमा रकम जम्मा भए पनि पीडितले आवश्यक राहत पाउन नसकेको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए। साथै, सरकारनिकट व्यक्तिहरूमाथि भ्रष्टाचार र सेटिङमा संलग्न रहेको आरोपसमेत लगाए।

प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com