काठमाडौं । लगातार तीन संस्करणमा फाइनल यात्रा तय गरे पनि उपाधिबाट वञ्चित हुँदै आएको सुदूरपश्चिम रोयल्सले अन्ततः नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न डे–नाइट फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बनेको हो।
यससँगै सुदूरपश्चिमले अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीसँग व्यहोरेको हारको बदला पनि लिएको छ। एनपिएलका पहिलो र दोस्रो संस्करणमा फाइनल पुगे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिमले तेस्रो प्रयासमा भने शानदार सफलता हात पारेको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्यो। टोलीले ३९ बल बाँकी छँदै १५८ रन जोडेर १० विकेटको जित निकालेको हो।
सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सी नायक बने। उनले ५४ बलमा ८ चौका र १२ छक्काको मद्दतले अविजित १२५ रन बनाउँदै एनपिएल फाइनलमा अविस्मरणीय शतकीय पारी खेले। मुन्सीको विस्फोटक ब्याटिङका कारण लुम्बिनीका बलर पूर्ण रूपमा दबाबमा परे।
मुन्सीले २८ बलमा पाँच चौका र तीन छक्कासहित अर्धशतक पूरा गरेका थिए। त्यसपछि आक्रामक लयलाई निरन्तरता दिएका उनले ४९ बलमै आठ चौका र आठ छक्कासहित शतक बनाए। शतकपछि थप आक्रामक बनेका मुन्सीले अन्तिम पाँच ओभरमा सुदूरपश्चिमले जोडेको ८५ रनमा महत्त्वपूर्ण योगदान दिए।
उनलाई अर्को छेउबाट विकेटकिपर विनोद भण्डारीले उत्कृष्ट साथ दिए। भण्डारीले २७ बलमा तीन चौकासहित अविजित ३० रन बनाए। सुदूरपश्चिमले अतिरिक्त तीन रनसमेत जोड्यो।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको थियो। टोलीले ४.६ ओभरमा ५० रन, पावरप्लेमा ६० रन तथा १० ओभरमा ९० रन पूरा गर्यो। त्यसपछि १०.४ ओभरमा सय रनको आँकडा पार गरेको सुदूरपश्चिमले १३.२ ओभरमा १५० रन पुर्याएको थियो।
सुदूरपश्चिमको आक्रामक ब्याटिङसामु लुम्बिनीका कुनै पनि बलरले विकेट लिन सकेनन्। लुम्बिनीका कप्तान रोहित पौडेलले एक ओभरमा १८ रन खर्चिए। रुबेन ट्रम्पेलम्यानले दुई ओभरमा २६, किशोर महतोले तीन ओभरमा ३८, शेर मल्लले ३.३ ओभरमा ३४, डार्सी सर्टले दुई ओभरमा २१ र अभिषेक गौतमले दुई ओभरमा २० रन दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रन जोडे। उनले ३१ बलमा तीन छक्का प्रहार गर्दै अविजित इनिङ्स खेले।
कप्तान रोहित पौडेलले ३१ बलमा दुई चौकासहित ३० रन बनाए। विकेटकिपर निरोशन डिकवेलाले १७ बलमा एक चौका र दुई छक्काको मद्दतले २८ रन जोड्दा अली शेखले १२ बलमा दुई चौका र दुई छक्कासहित २४ रन बनाए।
ओपनर डार्सी सर्टले १८ बलमा चार चौका प्रहार गर्दै २१ रन बनाएर आउट भए। आसिफ शेख एक र सन्दीप जोरा चार रनमा पेभिलियन फर्किए। रुबेन ट्रम्पेलम्यान भने दुई बलमा चार रन बनाउँदै अविजित रहे। लुम्बिनीले अतिरिक्त चार रन पाएको थियो।
पावरप्लेमा दुई विकेट गुमाएको लुम्बिनीले ३७ रन बनाएको थियो। इनिङ्सका क्रममा लुम्बिनीले ५, ३५, ७४, १०८, ११४ र १४७ रनको अवस्थामा विकेट गुमाएको थियो। आसिफ शेखको एलबीडब्ल्यूविरुद्ध लुम्बिनीले दोस्रो ओभरमा लिएको रिभ्यु तथा डिकवेलाविरुद्ध सुदूरपश्चिमले आठौँ ओभरमा लिएको रिभ्युमा अम्पायरको निर्णय सदर भएको थियो।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिए। हेमन्त धामीले चार ओभरमा २३, थरिन्दु रत्नायकेले चार ओभरमा २४ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले चार ओभरमा २५ रन खर्चेर समान एक–एक विकेट हात पारे।
अनिल खरेल र इशान पाण्डे भने विकेटविहीन रहे।
लुम्बिनीलाई एकपक्षीय रूपमा पराजित गर्दै सुदूरपश्चिमले तेस्रो प्रयासमा एनपिएलको उपाधि आफ्नो नाममा लेखाएको छ। मुन्सीको अविजित शतक र विनोद भण्डारीको संयमित साथमा सुदूरपश्चिमले फाइनलमा ऐतिहासिक जित दर्ता गरेको हो।
प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार













प्रतिक्रिया