काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राख्न सुझाव दिएका छन्। उनले नेपालले लामो समयदेखि उठाउँदै आएका द्विपक्षीय मुद्दालाई स्पष्ट अडान र उच्च प्राथमिकताका साथ भारतीय पक्षसमक्ष प्रस्तुत गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले महत्त्वपूर्ण कूटनीतिक भ्रमणअघि राज्यका सम्बन्धित निकाय र राजनीतिक दलहरूसँग आवश्यक परामर्श नगरी अघि बढ्नु संस्थागत अभ्यास र लोकतान्त्रिक मूल्यअनुकूल नभएको टिप्पणी गरेका छन्।
उनले प्रधानमन्त्रीको भारत भ्रमण सिंगो देशको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण अवसर भएकाले यसलाई राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्ने प्रक्रियासँग जोड्नुपर्ने बताएका छन्।
नेपाल र भारतबीच ऐतिहासिक तथा जनस्तरमा प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै पौडेलले सार्वभौम समानता, आपसी विश्वास र सम्मानका आधारमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
भ्रमणका क्रममा नेपालको हितमा ठोस उपलब्धि हासिल हुने अपेक्षा व्यक्त गर्दै उनले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, सार्थक र फलदायी रहोस् भन्ने शुभकामनासमेत दिएका छन्।
प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार













प्रतिक्रिया