काठमाडौं । नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीविरुद्ध पक्राउ अनुमति लिएको हो।
सीआईबी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान अघि बढाउन बानियाँलाई पक्राउ गर्ने अनुमति लिइएको हो। पक्राउ अनुमति जारी भएको जानकारी पाएपछि उनी फरार रहेको स्रोतले जनाएको छ।
बानियाँ २०८२ साउनदेखि २०८३ भदौसम्म वाग्मती प्रदेशको मुख्यमन्त्री बनेका थिए।
यसअघि सीआईबीले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गर्न पनि अनुमति लिएको थियो।
नेपालबाट मलेसिया जाने श्रमिकसँग कानुनविपरीत रकम असुली गरेको प्रकरणमा सीआईबीले यसअघि पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित छ जनालाई पक्राउ गरेको थियो।
सीआईबीको अनुसन्धानअनुसार उनीहरूले कानुनविपरीत नीतिगत निर्णय गराएर एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन गरेका थिए।
प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार













प्रतिक्रिया