काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको आन्तरिक राजनीति अनावश्यक दिशामा जान नदिनको लागि राजनीतिक दलहरूले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित ‘राष्ट्रिय जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो जोड दिएका हुन्।

उनले अमेरिका लगायतका देशमा हालै सम्पन्न निर्वाचनबाट एउटै शक्ति सधैँ सत्तामा रहन नसक्ने उदाहरण पेश गरेको भन्दै आफूहरू आत्तिन नहुने समेत बताए । उनले दलहरू र जनताबीचको दूरी कम गर्न लोकतान्त्रिक शक्तिहरुबीच सहकार्यको आवश्यक रहेको पनि बताए ।

उनले मुलुकको आन्तरिक मामिलामा कुनैपनि देशले हस्तक्षेप नगरोस् भन्नका लागि समाजवाद र एक चीन नीतिको पक्षमा आफूहरू रहेको पनि बताए । उनले चीनले अंगालेको समाजवाद विश्वकै लागि अध्ययनको महत्वपूर्ण विषय भएको उल्लेख गर्दै चीनको समाजवादी व्यवस्था र राज्य सञ्चालनका अनुभव नेपालका लागि पनि उपयोगी हुने बताए । उनले पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउन नेता तथा कार्यकर्ताको सक्रियता आवश्यक रहेको पनि बताए।

उनले भने,‘हामी समाजवादको पक्षमा छौँ, एक चीन नीतिको पक्षमा छौँ । हामी देशको आन्तरिक मामिलामा कुनैपनि देशले हात नहालुन् भन्ने पक्षमा रहेका छौँ । यही क्रममा अहिले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय बैठकबाट एउटा महत्वपूर्ण निर्णय र प्रस्ताव पनि पारित गरेको छ । त्यसकारण चीनको समाजवाद विश्वको निम्ति अहिले अध्ययनको एउटा महत्वपूर्ण विषय समेत भएको छ ।

पार्टीदेखि राज्य सञ्चालनसम्मका चिनियाँ अनुभवहरू हाम्रो लागि पनि काम गर्ने कुरा नै हुन्छन् । यो सबै परिप्रेक्ष्यमा विश्वको राजनीति पनि सकारात्मक दिशामा गइराखेको छ भने देशको आन्तरिक राजनीति पनि अनावश्यक गलत दिशामा नजाओस् भन्ने सन्दर्भमा भूमिका खेल्नुपर्ने अवस्था छ । अहिलेका घटनाक्रमबाट हामी आत्तिनुपर्ने केही पनि छैन । मुख्यतः हामी जनतासँग जोडिनुपर्छ र लोकतान्त्रिक शक्तिहरूसँग समेत हातेमालो गदै अगाडि बढ्नुपर्छ । मुख्यतः हाम्रो जोड पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउने कुरामा केन्द्रित हुने भएको कारणले अहिले सबै नेता तथा कार्यकर्ताको सक्रियताको खाँचो छ ।

यसरी हामी वामपन्थी शक्तिहरूलाई मिलाउनको लागि पनि कोसिस गर्नेछौँ । हामी सबैसँग एकता गर्नेछौँ तर एकता गर्दा २०७५ साल जेठ ३ गतेको जस्तो नहोस् भन्ने कुरामा पनि विचार पुर्‍याउनेछौँ । पार्टी सञ्चालनको क्रममा रहेका गल्तीहरू सच्याउने काम पनि गर्नेछौँ ।’

उनले वामपन्थी शक्तिहरूबीच एकता प्रयास जारी राख्ने तर विगतको एकता प्रक्रियामा भएका कमजोरी दोहोरिन नदिन सचेत हुनुपर्ने समेत बताए ।

प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com