काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका सन्दर्भमा अघि सारिएको नेपाल–भारत संयुक्त भिजन पेपरको औचित्यमाथि प्रश्न उठाएका छन्।
दुई स्वतन्त्र तथा सार्वभौम मुलुकले साझा दृष्टिकोणपत्र तयार गर्नुको आवश्यकता र त्यसबाट नेपालको राष्ट्रिय हितमा पुग्ने योगदान स्पष्ट हुनुपर्ने उनको भनाइ छ। प्रधानमन्त्रीको भ्रमणबारे टिप्पणी गर्दै रावलले संयुक्त भिजन पेपरबाट सकारात्मक परिणाम प्राप्त हुने विषयमा आशंका व्यक्त गरेका हुन्।
उनले भने, ‘एउटा सार्वभौम स्वतन्त्र देशले अर्को देशसँग मिलेर भिजन पेपर बनाउँछ ? कतै सुन्नुभएको छ ? संयुक्त भिजन पेपरमा अब दुईले घाँटी जोडेर के गर्ने हुन् ?’
रावलले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल वा उपलब्धिमूलक हुने विषय अहिले नै निष्कर्षमा पुगेर भन्न नसकिने बताए। भ्रमणपछि मुलुकले प्राप्त गर्ने उपलब्धि हेरेर मात्र त्यसको मूल्यांकन गर्नुपर्ने उनको धारणा छ।
सरकारका गतिविधि र निर्णयबारे नागरिकले स्पष्ट जानकारी पाउन नसकेको उल्लेख गर्दै उनले सरकारको कार्यसम्पादनमाथि पनि प्रश्न उठाए।
विशेष गरी सरकारी अभिव्यक्ति र सार्वजनिक सञ्चारमा अङ्ग्रेजी भाषाको अत्यधिक प्रयोग भइरहेको भन्दै उनले आलोचना गरे। संविधानले देवनागरी लिपिमा नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको उनको भनाइ छ।
उनले भने, ‘हाम्रो राष्ट्र नेपालको जुन अहिले सरकार छ । त्यसले के काम गरिरहेको छ । त्यो कुरा बुझेर कम्युनिष्ट र देशभक्त भनेको के हो भन्नेकुरामा आफ्नो ठाउँबाट काम गरौँ । कसैले गरोस्, नरोस्, राजनीति भनेको कुनै व्यक्तिको लागि गरेको होइन । आज जेनजी भन्छन्, यो त अमेरिकाको समाजशास्त्रीले आफ्नो व्यापार व्यवसाय वस्तु प्रचार गर्दा कसरी समाजमा भिज्न सकिन्छ भनेर ल्याएको प्रचार हो । त्यसलाई यहाँ ल्याएर जेनजी भनेर हालिदिएको छ । काँधमा बोकेर घुमेको छ, त्यसको व्याख्या गर्ने कोही पनि छैन । युवाहरूको सरकार भनेर आएका प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
भारत भ्रमणमा जाने सन्दर्भमा उहाँको उहाँहरू अंग्रेजी धेरै घुसाउनु हुन्छ । ३० प्रतिशत अंग्रेजी घुसाउनु हुन्छ, जनताले बुझ्दैनन् । आफूलाई ठुलोपन देखाउनुपर्छ । नेपालको संविधानमा नेपाली भाषा देवनागरिक लिपीमा हुनेछ भन्नेछ । त्यसको कार्यान्वयन हुँदैन । उहाँले संयुक्त भिजन पेपर देखाउनुभएको छ । एउटा सार्वभौम स्वतन्त्र देशले अर्को देशसँग मिलेर भिजन पेपर बनाउँछ । कतै सुन्नुभएको छ ? सुन्नुभएको छ कतै ? संयुक्त भिजन पेपरमा अब दुईले घाँटी जोडेर के गर्ने हुन् ? कुनै सुखद् परिणाम आए भन्ने कुरा एकदमै कम मात्रै सुन्नुहुनेछ ।’
रावलले ‘जेन जेड’ शब्दको प्रयोग र त्यसलाई राजनीतिक रूपमा प्रस्तुत गर्ने प्रवृत्तिप्रति पनि असहमति जनाए। उनले उक्त अवधारणाको उत्पत्ति र प्रयोगबारे आफ्नै व्याख्या प्रस्तुत गर्दै त्यसलाई पर्याप्त रूपमा स्पष्ट नगरी प्रयोग गरिएको आरोप लगाए।
देशको आर्थिक, राजनीतिक तथा सांस्कृतिक अवस्थाबारे गम्भीर छलफल आवश्यक रहेको उल्लेख गर्दै रावलले राष्ट्रिय जागरण अभियानमा समृद्धि र नागरिकका समस्यालाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले रोजगारीलगायत कारणले हजारौँ नागरिक विदेश गइरहेको विषयमा सरकारको ध्यान जानुपर्ने धारणा राखे। सरकारले अपनाइरहेका नीति, गरेका निर्णय र तिनको उपलब्धिबारे जनतालाई जानकारी गराउनुपर्ने उनको माग छ।
रावलले भने, ‘भारत भ्रमणबाट वर्तमान प्रधानमन्त्रीले के लिएर आउनुहुन्छ, त्यो हेर्नुपर्छ । हाम्रो राष्ट्रिय जागरण अभियानमा हाम्रो देशको अर्थतन्त्र, राजनीति, संस्कृति, समृद्धिबारे सोच्नुपर्छ । आज हजारौँ मानिस देश छोडेर गइरहेका छन्, त्यसबारेमा हामीले सोच्नुपर्छ । सरकारले कसरी निर्णय गर्छ,त्यसबारेमा हामी जनताको बीचमा लैजानुपर्छ ।’
उनले गेटा अस्पताल अपेक्षाअनुसार सञ्चालन हुन नसकेको विषय पनि उठाए। अस्पतालको सेवा प्रभावकारी बनाउन आवश्यक पहल गर्न सरकारसँग आग्रह गरे।
प्रकाशित मिति: ६ मंसिर २०८३, आइतबार













प्रतिक्रिया