काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुन खरिद घटाउन गरेको आग्रहका कारण भारतमा सुनको आयात कम भएको र त्यसको प्रभाव विश्व बजारमा समेत परेको भारतका केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले दाबी गरेका छन्।
आइतबार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गोयलले भारतीय नागरिकले प्रधानमन्त्री मोदीको आग्रहलाई गम्भीरतापूर्वक पालना गरेपछि सुनको माग र आयात घटेको बताएका हुन्। उनका अनुसार यसले नेपालसहित विश्व बजारमा सुनको मूल्य प्रभावित पारेको छ।
गोयलले विदेशी मुद्रा सञ्चिति सुन आयातमा खर्च गर्नुको सट्टा बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न मोदीले नागरिकलाई आग्रह गरेको बताए। भारतीय नागरिकले उक्त सुझाव आत्मसात् गरेपछि सुनको आयात घटेको उनको भनाइ छ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा सञ्चिति सुन आयातमा मात्र खर्च नगर्न र आफ्नो बचत उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नागरिकलाई आग्रह गर्नुभएको थियो। भारतीय जनताले उहाँको आग्रहलाई गम्भीरतापूर्वक लिए। परिणामस्वरूप सुनको आयात घट्यो र त्यसको प्रभाव स्वाभाविक रूपमा विश्व बजारमा पनि पर्यो,’ गोयलले भने।
उनको यो भनाइ मोदीले शनिबार लखनउमा आयोजित कार्यक्रममा एक वर्षसम्म अत्यावश्यक नभएसम्म सुन खरिद नगर्न गरेको आग्रहको भोलिपल्ट आएको हो।
मोदीले एक वर्षअघि नै नागरिकलाई अनावश्यक रूपमा सुन नकिन्न आग्रह गरेको र भारतीय जनताले त्यसलाई सकारात्मक रूपमा लिएको बताएका थिए। उनले आफ्नो आग्रहलाई पूर्वप्रधानमन्त्री लालबहादुर शास्त्रीले नागरिकलाई एक छाक खाना नखान गरेको अपिलसँग तुलना गरेका थिए।
‘एक वर्षअघि मैले देशवासीलाई आवश्यक नभएसम्म एक वर्षसम्म सुन नकिन्न आग्रह गरेको थिएँ। लालबहादुर शास्त्रीले एक छाक खाना नखान आग्रह गर्दा देशवासीले जसरी त्यसको पालना गरेका थिए, अहिले पनि त्यस्तै भावना देखिएको छ,’ मोदीले भनेका थिए।
उनका अनुसार सुन खरिद घटाउँदा नागरिकको रकम बचत भएको छ। केही नागरिकले आफ्नो सुझाव पालना गर्दा पैसा जोगिएको भन्दै धन्यवाद दिएको पनि उनले उल्लेख गरेका थिए।
यसअघि सन् २०२६ मे १० मा सिकन्दराबादमा आयोजित कार्यक्रममा पनि मोदीले पश्चिम एसियामा जारी द्वन्द्व र कच्चा तेलको बढ्दो मूल्यलाई ध्यानमा राख्दै विदेशी मुद्रा सञ्चिति जोगाउन नागरिकलाई विभिन्न आग्रह गरेका थिए।
उनले सुन खरिद घटाउन, एक वर्षसम्म विदेश भ्रमण नगर्न, सम्भव भएसम्म घरबाटै काम गर्न, इन्धन बचत गर्न, स्वदेशी उत्पादन प्रयोग गर्न, खाना पकाउने तेलको खपत कम गर्न तथा प्राकृतिक खेतीलाई प्रोत्साहन गर्न आग्रह गरेका थिए।
प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार













प्रतिक्रिया