काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको हवाई रुटसम्बन्धी सहमतिलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् । यद्यपि, विगतका सहमति कार्यान्वयनमा आउन नसकेको अनुभवका आधारमा उनले यसको कार्यान्वयनप्रति आशङ्का व्यक्त गरेका छन् ।

प्रेस चौतारी नेपाल दाङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले हवाई रुटसम्बन्धी सहमति उपलब्धिमूलक देखिए पनि त्यसलाई व्यवहारमा उतार्नु मुख्य चुनौती भएको बताए ।

उनले पञ्चायतकालमा समेत नेपाल र भारतबीच यस्तै सहमति भएको स्मरण गराउँदै विगतका सहमति कार्यान्वयन हुन नसकेको बताए । ‘एयर रुटको सहमति सकारात्मक भएको छ। तर कार्यान्वयन प्रमुख कुरा हो। पञ्चायतमा पनि यस्तो सहमति भएको थियो, तर कार्यान्वयनमा आएन,’ उनले भने ।

महासचिव पोखरेलले प्रधानमन्त्री शाहको भारत भ्रमणमा सीमा विवाद, ऐतिहासिक सन्धि तथा द्विपक्षीय सम्बन्धका महत्त्वपूर्ण विषयले प्राथमिकता पाउने अपेक्षा गरेको भए पनि ती विषयमा पर्याप्त छलफल हुन नसकेको टिप्पणी गरे ।

काठमाडौं महानगरपालिकामा ग्रेटर नेपालको नक्सा राखेको सन्दर्भ उल्लेख गर्दै उनले प्रधानमन्त्रीले भारतसँगको वार्तामा नेपाल–भारत सीमाको विषय उठाउने अपेक्षा आफूले गरेको बताए ।

उनका अनुसार कम्तीमा सुगौली सन्धिपछिका सीमा तथा ऐतिहासिक विषयमा छलफल हुनुपर्ने थियो । तर, ती विषय भ्रमणको एजेन्डामै नपरेको उनको भनाइ छ ।

त्यस्तै, सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको विषयसमेत प्रधानमन्त्रीले उठाउन नसकेको पोखरेलले बताए ।

नेपाली उत्पादनले भारतीय बजारमा भोग्दै आएको अवरोधप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए । नेपाली चिया, अलैँची र तरकारीलाई भारतीय बजारमा सहज पहुँच दिलाउने विषय भ्रमणको प्राथमिकतामा पर्न नसकेको उनको आरोप छ ।

‘भारतबाट आउने उत्पादनले प्राथमिकता पायो, तर आफ्नो उत्पादन भारतमा पुर्‍याउने कुरामा ध्यान गएन,’ पोखरेलले भने ।

यसैबीच, महासचिव पोखरेलले वर्तमान सरकारप्रति नागरिकले राखेको सुशासन र विकासको अपेक्षा पूरा हुन नसकेको आरोप लगाए । निर्वाचनका क्रममा सुशासन र विकासलाई प्रमुख एजेन्डा बनाएको सरकारले व्यवहारमा भने त्यसअनुसार काम गर्न नसकेको उनको टिप्पणी छ ।

सरकारले अघि सारेको ‘नो लाइन’ नारामाथि प्रश्न उठाउँदै उनले अहिले सरकारी सेवा प्रवाह झन् अस्तव्यस्त बनेको दाबी गरे ।

‘पहिलो कुरा त यो सरकारलाई जनताले किन मतदान गरे भन्ने कुरा प्रमुख हुन्छ। सुशासन र विकासका लागि नागरिकले मतदान गरेका थिए। सुशासनका लागि उहाँहरूले ‘नो लाइन’ भन्नुहुन्थ्यो, तर विगतको भन्दा भद्रगोल भएको छ,’ उनले भने ।

पोखरेलले रोजगारीको खोजीमा विदेशिने युवाको संख्या बढिरहेको, मुलुकमा लगानीमैत्री वातावरण बन्न नसकेको र विकास निर्माणका कामले अपेक्षित गति लिन नसकेको बताए ।

सरकारले पुँजीगत खर्चसमेत प्रभावकारी रूपमा गर्न नसकेको उल्लेख गर्दै उनले विकास निर्माणलाई सरकारले प्राथमिकतामा राख्न नसकेको आरोप लगाए ।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com