काठमाडौं । नेपाली नागरिकका बैंक खाता तथा डिजिटल वालेट प्रयोग गरी अनलाइन ठगीको रकम संकलन गर्ने र हुन्डीमार्फत भारत हुँदै तेस्रो मुलुक पठाउने गिरोहका चार जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय र दुई नेपाली नागरिक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गिरोहले विभिन्न बैंकका ४० वटा खाता र ई–सेवाका १७ वटा खाता प्रयोग गरी १५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ पर्नेमा भारत बिहारको बेतिया जिल्ला घर भई हाल विराटनगर–४ एयरपोर्ट मोड बस्ने २६ वर्षीय ताहिर हुसेन, बिहारकै कटिहार जिल्लाका ३६ वर्षीय ‘गुड्डु’ भनिने मोहमद सावुदिन, विराटनगर–१७ का ३१ वर्षीय जफर आलम र विराटनगर–९ का २३ वर्षीय फैयाज खान छन्।
प्रहरी अनुसन्धानका अनुसार यो समूहले सर्वसाधारणलाई साथी बनाएर आफ्नो खाता नभएको बहाना बनाउँदै उनीहरूको बैंक खाता र डिजिटल वालेटको विवरण माग्ने गर्थ्यो। त्यसपछि अनलाइन ठगीमार्फत प्राप्त रकम ती खातामा जम्मा गर्न लगाइन्थ्यो।
खातामा रकम जम्मा भएपछि फैयाज खानले खातावालालाई सम्पर्क गरी नगद निकाल्न लगाउँथे। खाता प्रयोग गर्न दिएबापत सम्बन्धित व्यक्तिलाई २ प्रतिशत कमिसन दिएर बाँकी रकम फैयाजले लिन्थे। फैयाजले संकलित रकमको १० प्रतिशत आफूले राखी बाँकी गुड्डु र जफर आलमलाई बुझाउने गर्थे। उनीहरूले पनि १० प्रतिशत कमिसन काटेर मुख्य नाइके मानिएका ताहिर हुसेनलाई रकम दिने गरेको खुलेको छ। ताहिरले पाकिस्तानी नागरिकहरूको सम्पर्कमा रही उनीहरूको निर्देशनअनुसार भारतका विभिन्न बैंक खातामा उक्त रकम जम्मा गरिदिने गरेको डिएसपी मिश्रले जानकारी दिए।
ठगी गिरोहले नबिल, एनआईसी एसिया, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, ज्योति विकास, माछापुच्छ्रे र लक्ष्मी सनराइज लगायतका बैंकका खाताहरू प्रयोग गरेको पाइएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध अनलाइन ठगी कसुरमा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गिरोह पक्राउ परेको खबर सार्वजनिक भएसँगै प्रहरी कार्यालयमा उजुरी दिन आउने पीडितहरूको संख्या बढ्दै गएकाले ठगीको रकम अझै बढ्न सक्ने प्रहरीको अनुमान छ।
प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार












प्रतिक्रिया