काठमाडौं । अमेरिकी नियामक निकायले उद्योगपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई पृथ्वीको कक्षमा १० लाखसम्म स्याटेलाइट प्रक्षेपण गर्ने अनुमति दिएको छ। यी स्याटेलाइटमार्फत अन्तरिक्षमै डेटा सेन्टर स्थापना गरी कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी गणना र डेटा प्रशोधन गर्ने कम्पनीको योजना छ।
अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले बुधबार ‘स्टारमाइन्ड’ नाम दिइएको परियोजनालाई स्वीकृति दिएको हो। परियोजनाअन्तर्गत स्याटेलाइटहरू सूर्यको प्रकाशबाट प्राप्त ऊर्जाबाट सञ्चालन हुनेछन्। तिनले एआईसँग सम्बन्धित डेटा प्रशोधन गरी त्यसको नतिजा पृथ्वीमा पठाउनेछन्।
स्पेसएक्सका अनुसार एआई प्रविधिको विस्तारसँगै बढ्दै गएको कम्प्युटिङ क्षमताको माग पूरा गर्न अन्तरिक्षमा डेटा सेन्टर स्थापना गर्नु किफायती विकल्प हुन सक्छ। पृथ्वीमा उपलब्ध ऊर्जा तथा अन्य स्रोतसाधनले भविष्यको कम्प्युटिङ आवश्यकता धान्न कठिन हुन सक्ने कम्पनीको भनाइ छ।
अमेरिकाका विभिन्न स्थानमा डेटा सेन्टर विस्तारको विरोध भइरहेका बेला यो परियोजनाले अन्तरिक्षलाई कम्प्युटिङ पूर्वाधारका रूपमा प्रयोग गर्ने नयाँ सम्भावना अघि सारेको छ।
एफसीसीका अध्यक्ष ब्रेन्डन क्यारले परियोजनालाई अमेरिकाको प्राविधिक तथा आर्थिक नेतृत्वका लागि महत्त्वपूर्ण कदम बताएका छन्। उनका अनुसार यसले देशको कम्प्युटिङ पूर्वाधार विकासमा नयाँ दिशा खोल्न सक्छ।
स्वीकृतिपछि एलन मस्कले सामाजिक सञ्जाल एक्समार्फत खुसी व्यक्त गर्दै यसलाई अमेरिका र विश्वकै लागि ठूलो उपलब्धि हुने बताएका छन्।
प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार













प्रतिक्रिया