काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन संविधानले तोकेको कार्यकालअनुसार नै हुनुपर्ने बताएका छन्।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले बिहीबार आयोजना गरेको सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले स्थानीय तह र प्रदेश सभाको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार निर्धारित समयमा सम्पन्न हुनुपर्नेमा जोड दिए।

उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन नियमित र निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै निर्वाचनमा हारजीतलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। निष्पक्ष निर्वाचन भएमा लोकतन्त्रमा कुनै पनि दल वा उम्मेदवारको हारजीत सामान्य विषय भएको उनको भनाइ थियो।

निर्वाचनलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले जनताको अभिमतलाई सम्मान गर्नु नै लोकतन्त्रको मूल मर्म भएको बताए।

उनले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिम साता र प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिरमा हुनुपर्ने आफ्नो धारणा स्पष्ट पारे। निर्वाचनको संवैधानिक कार्यकाल र समयतालिका परिवर्तन गरेर प्रदेशसभाको निर्वाचन अगाडि सार्न नहुने उनको भनाइ थियो।

अध्यक्ष ओलीले एमालेभित्र नीति र विचारमा एकरूपकता रहेको स्पष्ट गर्दै पार्टीमा रहेर बाहिर जथाभावी बोल्ने प्रवृत्ति अब अन्त्य हुने जनाए।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This