काठमाडौं । सरकारले करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने प्रक्रिया अघि बढाएको छ।
नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा सामाजिक सुरक्षा मन्त्री सीता बादीले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने सरकारको नीति रहेको बताइन्।
उनका अनुसार चालु आर्थिक वर्षमा विनियोजित १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई कोषमा आबद्ध गराउने प्रक्रिया सुरु गरिएको छ।
अनौपचारिक क्षेत्रका श्रमिकका लागि स्थानीय तहको सहकार्यमा सङ्घीय सरकारले एक प्रतिशत सह–योगदान गर्ने व्यवस्था पनि अघि बढाइएको उनले जानकारी दिइन्। प्रधानमन्त्री, मन्त्री र सङ्घीय सांसदलाई समेत कोषमा आबद्ध गराउने तयारी भइरहेको उनको भनाइ छ।
मन्त्री बादीले सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउन विभिन्न कल्याणकारी कोषलाई एकीकृत तथा समन्वय गर्नुपर्नेमा जोड दिइन्।
हाल सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत छन्। कोषमा १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान सङ्कलन भएको छ भने २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिएको छ।
यस वर्षको सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता : वर्तमान र भविष्यको सुरक्षा’ नारासहित मनाइएको हो।
प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार















प्रतिक्रिया