काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टीलाई आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्न आग्रह गरेकी छन्। उनले संगठन सुदृढीकरण, जनजीविकाका सवाल र सरकारका पछिल्ला गतिविधिमाथि सशक्त खबरदारी गर्नुपर्ने बताएकी छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री संग्रौलाले निर्वाचन आयोगले पार्टीको विधानसम्मत विवरण र आधिकारिकता अद्यावधिक गरी मान्यता प्रदान गरिसकेको अवस्थामा अब आन्तरिक विवादमा अल्झिनुपर्ने अवस्था नरहेको बताएकी छन्।

उनले पार्टीको आधिकारिकता र वैधानिकताबारेको सन्देश देशभरका ६ हजार ७४३ वटै वडा तथा बुथ तहसम्म पुर्‍याउनुपर्ने बताउँदै ‘हामी तयार छौँ’ अभियानलाई संगठन विस्तार र सुदृढीकरणसँग जोड्नुपर्नेमा जोड दिएकी छन्।

संग्रौलाले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै आजैदेखि बुथ समिति अद्यावधिक, क्रियाशील सदस्यता नवीकरण तथा वितरण पारदर्शी बनाउनुपर्ने बताएकी छन्। युवाको ऊर्जा, अग्रजको अनुभव र नागरिकको विश्वासलाई एकीकृत गरेर पार्टीलाई गतिशील बनाउनुपर्ने उनको भनाइ छ।

उनले भोटेकोशी र बूढीगण्डकी क्षेत्रका बाढीपहिरो प्रभावित नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणलाई पार्टीले प्राथमिकताका साथ उठाउनुपर्ने बताएकी छन्। प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित आवास र दीर्घकालीन जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारलाई दबाब दिनुपर्ने उनले उल्लेख गरेकी छन्।

त्यस्तै, विस्थापित तथा भूमिहीन सुकुम्बासीको समस्या मानवीय मर्यादा र सामाजिक न्यायका आधारमा समाधान गर्नुपर्ने उनको धारणा छ। जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दा रोजगारी, शिक्षा र स्वास्थ्यको पहुँचसमेत सुनिश्चित गर्नुपर्ने उनले बताएकी छन्।

सरकारका पछिल्ला गतिविधिमाथि टिप्पणी गर्दै संग्रौलाले प्रेस स्वतन्त्रता, विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यतामाथि हस्तक्षेप भएको आरोप लगाएकी छन्। पत्रिका कार्यालयमा धरपकड, प्रहरी अनुसन्धानमा हस्तक्षेप तथा प्रधानमन्त्रीका सल्लाहकारले प्रमाण वा मोबाइल फोन लगेर राखेको भनिएका घटनाप्रति कांग्रेसले गम्भीर प्रश्न उठाउनुपर्ने उनको भनाइ छ।

यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले नेपालको चुच्चे नक्सा र नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन कार्यान्वयनसम्बन्धी राष्ट्रिय अडान छाडेको देखिएको भन्दै उनले संसद् र सडक दुवै मोर्चाबाट सरकारसँग जवाफ माग्नुपर्ने बताएकी छन्।

आगामी स्थानीय निर्वाचनबारे बोल्दै संग्रौलाले लोकप्रिय, स्वच्छ छवि भएका र जनतामाझ विश्वसनीय उम्मेदवार छनोट गर्ने आधार अहिलेदेखि नै तयार गर्नुपर्ने बताएकी छन्। पार्टीको आधिकारिक निर्णयविरुद्ध विद्रोही उम्मेदवारी दिने तथा असहयोग गर्नेहरूमाथि कडा अनुशासनात्मक कारबाही गर्नुपर्नेमा पनि उनले जोड दिएकी छन्।

कांग्रेसबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनका क्षेत्रमा गरेका कामको तथ्यांकसहित प्रचार गर्नुपर्ने उल्लेख गर्दै उनले आगामी पाँच वर्षका लागि प्रदेश तथा स्थानीय तहको स्पष्ट नीति, भिजन र कार्ययोजना बनाएर जनतामाझ जानुपर्ने बताएकी छन्।

निर्वाचन आयोगको निर्णयपछि कांग्रेस नयाँ ऊर्जा र वैधानिक बलका साथ अघि बढ्ने अवसर प्राप्त भएको उल्लेख गर्दै महामन्त्री संग्रौलाले आन्तरिक एकता सुदृढ गर्दै जनजीविकाका मुद्दा उठाउन र सरकारका गलत कदमको प्रतिवाद गर्न पार्टी पंक्तिलाई आह्वान गरेकी छन्।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This