काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेससँग राजनीतिक प्रतिस्पर्धा गर्न कठिन देखेपछि विभिन्न पक्षबाट पार्टीमाथि चौतर्फी प्रहार भइरहेको बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले कांग्रेसका सबल पक्ष र समावेशी चरित्रको प्रभावकारी प्रचार हुन नसकेको स्वीकार गरे।
कांग्रेसलाई नेपालको राजनीतिको ‘विश्वविद्यालय’ को संज्ञा दिँदै पौडेलले अन्य दलले पनि कांग्रेसबाटै सिक्ने गरेको दाबी गरे। कांग्रेसको विधान मुलुककै सबैभन्दा समावेशी भए पनि त्यसको महत्त्व नागरिकस्तरमा स्थापित गर्न नसकिएको उनको भनाइ थियो।
पार्टीको गौरवपूर्ण इतिहास, समावेशी विधान र सामाजिक मुद्दालाई एकसाथ अघि बढाउन सके कांग्रेसलाई कमजोर बनाउन नसकिने उनले बताए।
महामन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए। सरकारले संसद्लाई बेवास्ता गरेको, महँगीको भार नागरिकमाथि थोपरेको र राष्ट्रियतामाथि प्रहार गरेको उनको आरोप थियो। सुनकोसी मरिन डाइभर्सनदेखि पासपोर्ट काण्डसम्मका अनियमिततामा सरकार जोडिएको दाबी गर्दै उनले त्यसविरुद्ध कांग्रेसले सशक्त आवाज उठाउनुपर्ने बताए।
पार्टीलाई नागरिकसँग जोड्न कार्यशैली परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै पौडेलले वडा तहका बैठकमा स्थानीय समस्यालाई प्राथमिकताका साथ समेट्नुपर्ने धारणा राखे। प्रत्येक वडाको बैठकमा कम्तीमा तीनवटा प्रमुख स्थानीय मुद्दा अनिवार्य रूपमा छलफलको विषय बनाउनुपर्ने उनको सुझाव थियो।
किशोरकिशोरीदेखि ज्येष्ठ नागरिकसम्मले कांग्रेसले आफ्ना समस्या र सरोकारलाई सम्बोधन गरेको महसुस गर्ने वातावरण बनाउनुपर्ने उनले बताए। पार्टीका प्रतिनिधिहरू जिल्ला, पालिका र वडामा पुग्दा औपचारिक बैठक तथा भाषणमा मात्र सीमित नभई स्थानीय नागरिकका वास्तविक समस्या पनि पार्टीको एजेन्डामा समेटेर फर्कनुपर्ने पौडेलको जोड थियो।
उनले परम्परागत भाषणमुखी कार्यक्रमको शैली परिवर्तन गर्दै समाजका सबै वर्ग, समुदाय र उमेर समूहलाई कांग्रेससँग जोड्ने अभियान चलाउनुपर्ने बताए।
प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार















प्रतिक्रिया