काठमाडौं । नेपालमा अमेरिकी लगानी आकर्षित गर्न कर प्रणाली पूर्वानुमानयोग्य, बौद्धिक सम्पत्ति अधिकार सुरक्षित र सार्वजनिक खरिद प्रक्रिया पारदर्शी हुनुपर्नेमा नेपालस्थित अमेरिकी दूतावासले जोड दिएको छ।

नेपालका लागि अमेरिकी दूतावासका उपप्रमुख स्कट आर्बमले नेपाल–अमेरिका आर्थिक साझेदारी थप सुदृढ बनाउन लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने बताएका छन्। नेपाल–अमेरिका चेम्बर अफ कमर्स (एनएसीसी) द्वारा आयोजित कार्यक्रममा बोल्दै उनले अमेरिकी कम्पनीका लागि नेपालमा अनुकूल व्यावसायिक वातावरण बनाउनु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन र दूतावासको प्राथमिकता रहेको बताए।

नेपालमा अमेरिकी कम्पनीले सकारात्मक व्यावसायिक अनुभव हासिल गर्ने, सफल साझेदारी निर्माण गर्ने र नयाँ लगानीका अवसर खोज्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। अमेरिकी कम्पनीहरूको नेपालमा सफलता देखेर अन्य कम्पनी पनि नेपाली बजारमा आकर्षित हुने उनले विश्वास व्यक्त गरे।

अमेरिकी कम्पनीले नवीन प्रविधि, उत्पादन र सेवा नेपाल भित्र्याउन सके दुवै देशका लागि आर्थिक अवसर विस्तार हुने आर्बमले बताए। नेपालमा भ्रष्टाचार र प्रशासनिक झन्झट घटाउन व्यापक समर्थन रहेको उल्लेख गर्दै उनले यसका लागि एनएसीसीलगायत संस्थासँग सहकार्य जारी राख्ने बताए।

कार्यक्रममा उनले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना व्यक्त गर्दै विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराएको जानकारी दिए। बाढीबाट प्रभावित परिवार र बेपत्ता अमेरिकी नागरिकप्रति पनि उनले चिन्ता व्यक्त गरे।

नेपाल र अमेरिकाबीच करिब ८० वर्ष पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै आर्बमले आगामी दिनमा व्यापार, लगानी र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताए।

कार्यक्रममा उनले नेपालको आर्थिक समृद्धि र नेपाल–अमेरिका सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने व्यवसायी तथा व्यक्तित्वलाई सम्मान गर्दै पुरस्कार प्राप्त गर्ने सबैलाई बधाई दिए। दुई देशबीचको आर्थिक सम्बन्ध नजिक बनाउन निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले व्यापार विस्तार र साझा समृद्धिका लागि आगामी दिनमा पनि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This