काठमाडौं । महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सिता बादी बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवन बिताएको झुप्रा खोला बस्तीमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई लिएर पुगेकी छन्। शनिबार साँझ जन्मभूमि पुगेकी उनले स्थानीयले वर्षौंदेखि भोग्दै आएका समस्या र आवश्यकताबारे शिक्षामन्त्रीलाई प्रत्यक्ष जानकारी गराइन्।
स्थानीयसँगको भेटघाटमा विद्युत्, खानेपानी, शिक्षा, रोजगारी, बस्ती व्यवस्थापन र आधारभूत पूर्वाधारको अभाव प्रमुख रूपमा उठेको थियो। खोलाको किनारमा जोखिमपूर्ण अवस्थामा रहेको बस्तीका बासिन्दाले पुस्तौँदेखि जीविकोपार्जनको माध्यम बनेको बालुवा–गिट्टी कुट्ने पेसा बन्द भएपछि आम्दानीको स्रोत गुमेको र वैकल्पिक रोजगारी नहुँदा जीवनयापन कठिन बनेको गुनासो गरेका थिए।
भेटका क्रममा बादी समुदायका बालबालिकाको शिक्षामा पहुँचको विषयले विशेष प्राथमिकता पायो। जन्मदर्ता नहुँदा १५ जना बालबालिका शिक्षाको अवसरबाट वञ्चित भइरहेको भन्दै मन्त्री बादीले शिक्षामन्त्री पोखरेलको ध्यानाकर्षण गराइन्। पोखरेलले ती बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
त्यस्तै, स्थानीय महिलालाई आत्मनिर्भर बनाउन सीप विकास र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो। मन्त्री बादीले झुप्रा खोलाका महिलालाई लक्षित गरी छिट्टै सीपमूलक तालिम सञ्चालन गर्ने जानकारी दिइन्। तालिमलाई स्वरोजगार र दिगो आयआर्जनसँग जोड्ने उनको भनाइ थियो।
आफूले बाल्यकालमा भोगेको अभाव र सङ्घर्ष स्मरण गर्दै मन्त्री बादीले राज्यको जिम्मेवारी जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सके मात्र सार्थक हुने बताइन्। झुप्रा खोलाका बालबालिकाले शिक्षाको अवसर पाउनुपर्ने, महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्नुपर्ने र प्रत्येक परिवारले सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।
स्थानीयका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र आवश्यक पहल गर्ने उनले बताइन्। भ्रमणमा प्रधानमन्त्रीका मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र प्रतिनिधिसभा सदस्य तारा विश्वकर्माको पनि उपस्थिति थियो।
प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार














प्रतिक्रिया