काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबीच तराई–मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे उच्चस्तरीय छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा हालैका घटनाक्रम, सुरक्षा व्यवस्थापन र आगामी रणनीतिबारे समीक्षा गरिएको हो।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गृहमन्त्री गुरुङले मधेश क्षेत्रमा स्वयं पुगेर गरेको स्थलगत अनुगमन र सुरक्षा निकायबाट प्राप्त पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराएका थिए।
भेटका क्रममा सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनाव, त्यसपछिको सुरक्षा चुनौती तथा स्थिति सामान्य बनाउन अपनाइएका कदमबारे छलफल भएको बताइएको छ। साथै, यस्ता घटना पुनः दोहोरिन नदिन आगामी दिनमा अपनाइने सुरक्षा रणनीतिबारे पनि प्रारम्भिक विमर्श गरिएको स्रोतले जनाएको छ।
गत साउन १० गते राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा घाइते भएका थप दुई जनाले उपचारका क्रममा ज्यान गुमाएका छन्।
कप्तानगञ्जको घटनापछि तनाव अन्य जिल्लासम्म फैलिएको थियो। सिरहामा पनि प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि सुरक्षा सतर्कता थप कडा पारिएको थियो। अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै नेपाली सेनासमेत परिचालन गरिएको थियो।
सरकारले पछिल्लो सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गर्दै शान्ति–सुरक्षा कायम राख्न आवश्यक कदम अघि बढाइरहेको जनाएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया