काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार उच्चस्तरीय भेटवार्ता भएको छ। भेटमा पछिल्लो सुरक्षा अवस्था, विशेषगरी तराई–मधेशमा विकसित घटनाक्रम र समसामयिक विषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनाव, त्यसपछिको सुरक्षा चुनौती तथा नेपाली सेनासहित सुरक्षा निकायको परिचालनबारे समीक्षा गरिएको थियो। आगामी दिनमा शान्ति–सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच विचारविमर्श भएको बताइएको छ।
यसैबीच, गोकर्णेश्वरस्थित नेपाली सेनाको ब्यारेक क्षेत्रको पर्खाल डोजर प्रयोग गरेर भत्काउन खोजिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसले पनि व्यापक चर्चा पाएको छ। भिडियोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डे र नेपाली सेनाका एक अधिकृतबीच उक्त विषयमा विवाद भएको देखिन्छ।
नेपाली सेनाले भने उक्त घटनाबारे सम्बन्धित निकायमार्फत तथ्य बुझ्ने प्रक्रिया अघि बढाइएको जनाएको छ। सैनिक स्रोतका अनुसार ब्यारेकको पर्खालको केही भागमा क्षति पुगेको भए पनि घटनाको वास्तविक विवरण संकलन भइरहेको छ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने प्रधानमन्त्रीसँगको भेटलाई नियमित समन्वय बैठककै रूपमा व्याख्या गरेका छन्। प्रधानमन्त्रीले हाल रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका कारण यस्ता भेटघाट नियमित रूपमा हुने उनले बताए।
गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि प्रहरीले चलाएको गोलीबाट एक जनाको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि घाइते भएका थप दुई जनाको उपचारका क्रममा निधन भएको छ। घटनाको प्रभाव अन्य जिल्लासम्म फैलिँदा सिरहामा पनि प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियो।
उक्त घटनापछि शान्ति–सुरक्षा कायम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै नेपाली सेनासमेत परिचालन गरिएको थियो। यही सुरक्षा अवस्थाको समग्र मूल्याङ्कनका लागि प्रधानमन्त्री र प्रधानसेनापतिबीच छलफल भएको स्रोतले जनाएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया