काठमाडौं । श्रम संस्कृति पार्टीले देशको सुरक्षा अवस्था, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नेपालमा नेपाली सेनाबाहेक अन्य कुनै पनि नाममा सशस्त्र समूह वा ‘सेना’ स्वीकार्य नहुने स्पष्ट गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै पार्टीका सांसद हर्कराज राईले पछिल्लो समय विभिन्न नाममा समूह गठन हुने र सरकारले त्यस्ता समूहसँग संवाद गर्ने प्रवृत्तिप्रति आपत्ति जनाए। सुनसरी र मधेशका घटनापछि चर्चामा आएको ‘हिन्दु सम्राट् सेना’प्रति संकेत गर्दै उनले यस्ता समूहलाई मान्यता दिनुभन्दा कानुनी दायरामा ल्याएर नियन्त्रण गर्नुपर्ने धारणा राखे।
उनले भने, ‘नेपालमा एउटा मात्र सेना छ, त्यो नेपाली सेना हो। विभिन्न नाममा सेना गठन गर्ने छुट कसैलाई छैन। यस्ता समूहसँग वार्ता होइन, कानुनअनुसार कारबाही हुनुपर्छ।’
सांसद राईले आफू साउन ५ गते जनकपुर जाँदा एक समूहले आफ्नो भ्रमण अवरुद्ध गर्न खोजेको र सहयोगीहरूमाथि आक्रमण भएको घटनाको पनि संसद्मा उल्लेख गरे। उनले निर्वाचित सांसदले आफ्नै देशमा स्वतन्त्र रूपमा हिँडडुल गर्न नपाउने अवस्था सिर्जना हुनु कानुनी शासनका लागि गम्भीर चुनौती भएको बताए।
उनका अनुसार घटनालगत्तै गृहमन्त्रीसँग सम्पर्क गरी दोषीमाथि कारबाहीको माग गरिएको भए पनि हालसम्म त्यसबारे स्पष्ट जानकारी प्राप्त नभएको बताए।
राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको छ’ भन्ने अभिव्यक्तिप्रति पनि असहमति जनाए। उक्त भनाइ संसद्को अभिलेखबाट अझै हटाइएको छैन भन्दै उनले सरकारको धारणा स्पष्ट गर्न माग गरे।
सांसद राईले सरकारले घटना घटेपछि मात्रै सक्रिय हुने प्रवृत्ति दोहोरिएको आरोप लगाउँदै शान्ति–सुरक्षा र राष्ट्रिय हितका विषयमा पूर्वतयारीसहित काम गर्न सरकारलाई आग्रह गरे।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया