रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङ क्षेत्रमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये सहचालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गंगादेव गाउँपालिका–१ भुर्तीबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो। जिप गंगादेव गाउँपालिका–१ निवासी २२ वर्षीय दिलकुमार वलीले चलाइरहेका थिए। दुर्घटनाका बेला जिपमा चालकसहित १० जना सवार थिए।

दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा सबै घाइतेको उद्धार गरी जुगार स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई दाङस्थित राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर रेफर गरिएको छ।

प्रहरीले दुर्घटनामा संलग्न चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

दुर्घटनामा गंगादेव गाउँपालिका–१ का ४१ वर्षीय धर्मराज डाँगी, ७७ वर्षीया सुपुरी डाँगी, २३ वर्षीय पलबहादुर घर्तीमगर तथा २४ वर्षीय सहचालक चित्रराम वली घाइते भएका छन्। सहचालक वलीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

यस्तै त्रिवेणी गाउँपालिका–७ की २८ वर्षीया मनिका डाँगी र उनका चार वर्षीय छोरा प्रदीप डाँगी, माडी गाउँपालिका–१ का २५ वर्षीय पृथ्वी पुन मगर, झिनुवाका २८ वर्षीय हरि वली तथा भारतको मोतिहारी जिल्ला निवासी २५ वर्षीय सन्तोष सहनी पनि दुर्घटनामा घाइते भएका छन्।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com