काठमाडौं । गोकर्णस्थित बागमती करिडोर विस्तारका क्रममा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद राजुनाथ पाण्डेबीच भएको भनाभनको भिडियो सार्वजनिक भएपछि त्यसले राजनीतिक र सार्वजनिक वृत्तमा व्यापक चर्चा पाएको छ। घटनापछि सांसद पाण्डेले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै करिडोर विस्तारको काम अन्ततः नेपाली सेनासँग पूर्ण समन्वयमै सम्पन्न भएको बताएका छन्।

विवाद नेपाल ट्रस्टको स्वामित्वमा रहेको गोकर्णेश्वर क्षेत्रस्थित नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल हटाउने विषयलाई लिएर उत्पन्न भएको थियो। माकलबारी–गोकर्णेश्वर सडक विस्तारका लागि जनप्रतिनिधिहरूसहित डोजर लिएर पुगेका सांसद पाण्डे र सुरक्षार्थ खटिएका सैनिक अधिकारीबीच प्रारम्भिक चरणमा भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

घटनाका क्रममा सैनिक अधिकारीहरूले सुरक्षा संवेदनशीलता र आवश्यक औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने भन्दै आधिकारिक पत्रको माग गरेका थिए। त्यसक्रममा सांसद पाण्डेले सम्बन्धित निकायको समन्वयमा सडक विस्तारको काम अघि बढ्ने अडान लिएका थिए।

घटनापछि प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोक सिग्देलबीच सिंहदरबारमा भेटवार्ता भएको स्रोतले जनाएको छ। सो भेटमा नियमित सुरक्षा समन्वयसँगै गोकर्ण करिडोरको घटनाबारे पनि छलफल भएको बताइएको छ।

स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्री सचिवालयले सांसद पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर सार्वजनिक अभिव्यक्ति र सुरक्षा निकायसँगको संवादको शैलीबारे ध्यानाकर्षण गराएको थियो। प्रधानमन्त्रीको नाम अनावश्यक रूपमा जोडेर अभिव्यक्ति नदिन तथा संवेदनशील विषयमा संयम अपनाउन सुझाव दिइएको स्रोतको दाबी छ।

सांसद पाण्डेले भने प्रधानमन्त्री कार्यालय गएको स्वीकार गर्दै त्यस्तो भेटलाई नियमित कार्यसम्पादनकै हिस्सा भएको बताएका छन्। ‘हिजो पनि जान्थेँ, आज पनि गएको हुँ, काम परे भोलि पनि जान्छु,’ उनले प्रतिक्रिया दिएका छन्।

सार्वजनिक गरेको विज्ञप्तिमा पाण्डेले नेपाली सेनाप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गर्दै भाइरल भिडियो प्रारम्भिक समन्वयमा केही मिनेट भएको ढिलाइको दृश्य मात्र भएको बताएका छन्। त्यसपछि प्रमुख सेनानीसँग छलफल गरी नेपाली सेनाकै पूर्ण सहयोग र सहकार्यमा बागमती करिडोर विस्तारको काम सफलतापूर्वक सम्पन्न गरिएको उनले स्पष्ट पारेका छन्।

साथै उनले तथ्य नबुझी सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत भ्रम फैलाउने तथा राज्यका संस्थाबीच अनावश्यक विवाद सिर्जना गर्ने गतिविधिबाट संयमता अपनाउन सबैसँग आग्रह गरेका छन्।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com