काठमाडौं । गृहमन्त्री सुदन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे संसद्मा पटक–पटक प्रश्न नउठाउन आग्रह गरेका छन्। उनले उक्त घटनाको अनुसन्धान संवेदनशील चरणमा रहेकाले यस विषयमा सार्वजनिक रूपमा धेरै टिप्पणी गर्न उपयुक्त नहुने बताएका हुन्।

बिहीबार राष्ट्रिय सभामा आयोजित गृहमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानको प्रगति र दोषी कहिले पक्राउ पर्छन् भन्ने जिज्ञासा राखेका थिए।

जवाफमा गृहमन्त्री गुरुङले यो मुद्दा अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै अनुसन्धानलाई असर पर्ने गरी सार्वजनिक रूपमा विस्तृत जानकारी दिन नसकिने स्पष्ट पारे।

उनले विगतमा सरकारमा रहेका पक्षतर्फ संकेत गर्दै भने, ‘यो अत्यन्त संवेदनशील विषय हो। तपाईंहरू सरकारमा हुँदा किन टुंगोमा पुर्‍याउन सक्नुभएन? पीडित परिवारको घाउ बारम्बार कोट्याउने कि न्याय दिलाउने भन्ने विषयमा हामी सबै गम्भीर हुनुपर्छ। अनुसन्धान सूक्ष्म रूपमा अगाडि बढिरहेको छ, त्यसैले अहिले धेरै कुरा सार्वजनिक गर्न मिल्दैन।’

गृहमन्त्री गुरुङले संसद्मा बारम्बार यही विषय उठाउँदा अनुसन्धान प्रक्रियामा असर पर्न सक्ने संकेत गर्दै सांसदहरूलाई संयमता अपनाउन आग्रह गरे।

उनले भने, ‘यो विषयलाई सदनमा पटक–पटक उठाएर पीडित परिवारको पीडा थप्ने काम नगरौँ। आवश्यक जिज्ञासा भए व्यक्तिगत रूपमा पनि राख्न सकिन्छ। हाम्रो लक्ष्य न्याय सुनिश्चित गर्नु हो, बहस मात्र होइन।’

गृहमन्त्रीले सरकारले घटनाको निष्पक्ष र गहन अनुसन्धान गरिरहेको दोहोर्‍याउँदै दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com