काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले नेपाललाई विश्वकै समृद्ध र पहिलो श्रेणीको राष्ट्र बनाउने पर्याप्त सम्भावना रहेको दाबी गरेका छन्। प्राकृतिक स्रोत–साधन, कृषि, पर्यटन, जलस्रोत र खनिज सम्पदाको प्रभावकारी उपयोग गर्न सके नेपाल आर्थिक रूपमा विश्वकै अग्रणी मुलुक बन्न सक्ने उनको भनाइ छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै जबराले जय नेपाल पार्टी केवल राजसंस्था, हिन्दु राष्ट्र वा सांस्कृतिक एजेन्डामा सीमित नभई आर्थिक समृद्धिलाई केन्द्रमा राखेर स्थापना गरिएको स्पष्ट पारे। उनले पार्टीको प्रमुख लक्ष्य नेपाली जनताको जीवनस्तर उकास्दै मुलुकलाई सम्पन्न राष्ट्रको रूपमा स्थापित गर्नु रहेको बताए।
उनका अनुसार नेपालसँग रहेको प्राकृतिक सम्पदा सही ढंगले परिचालन गर्न सके देशको आर्थिक रूपान्तरण सम्भव छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले विकासका अवसरहरूलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए।
रारा तालको उदाहरण दिँदै उनले नेपालका प्राकृतिक सम्पदाहरू विश्वस्तरका भए पनि तिनको उचित उपयोग हुन नसकेको बताए। कृषि, जलविद्युत्, पर्यटन र खनिज क्षेत्रको योजनाबद्ध विकासमार्फत नेपाललाई विश्वकै धनी राष्ट्रका रूपमा उभ्याउन सकिने उनको विश्वास छ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायलाई समान रूपमा समेट्ने साझा अभिभावकीय संस्थाको आवश्यकता रहेको भन्दै उनले ‘राजासहितको हिन्दु अधिराज्य’ त्यसको उपयुक्त विकल्प हुने दाबी गरे।
विगतका विभिन्न राजनीतिक व्यवस्था र प्रयोगहरूले अपेक्षित परिणाम दिन नसकेको टिप्पणी गर्दै जबराले अब नयाँ राजनीतिक मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले राजसंस्थासहितको हिन्दु अधिराज्यले राष्ट्रिय एकता, स्थायित्व र विकासलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे।
आफ्नो राजनीतिक यात्रामा जनताको विश्वास कहिल्यै नतोडेको दाबी गर्दै उनले जय नेपाल पार्टीलाई जनताले साथ दिए मुलुकलाई समृद्धि, सुशासन र आर्थिक विकासको नयाँ युगतर्फ अघि बढाउने प्रतिबद्धता जनाए।
प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार












प्रतिक्रिया