काठमाडौं । रवीन्द्र मिश्रले अभिनेता राजेश हमाललाई राजसंस्थाबारे स्पष्ट र दृढ धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्। हमालले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको ‘राष्ट्रलाई दलभन्दा माथि राख्यौँ कि राखेनौँ ?’ भन्ने अभिव्यक्तिलाई आधार बनाउँदै मिश्रले खुला पत्रमार्फत यस्तो आग्रह गरेका हुन्।
मिश्रले हमालले आफ्नो टिप्पणीमा प्रयोग गरेका ‘फेरिएको भूराजनीति’, ‘रणनीतिक दृष्टिले संवेदनशील’, ‘बदलिँदो विश्व परिवेश’, ‘दूरदृष्टि’, ‘राष्ट्रियहित’, ‘परिपक्वता’ र ‘लोकतन्त्र’ जस्ता शब्दहरू वर्तमान नेपालको चुनौतीसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरेका छन्।
उनले लामो समयदेखि आदर्शको कुरा मात्र गर्दै आएको तर त्यसलाई व्यवहारमा उतार्न नसक्दा राष्ट्र, राज्य र समाज क्रमशः कमजोर बन्दै गएको दाबी गरेका छन्। देशलाई उनेको स्वेटरको धागोसँग तुलना गर्दै मिश्रले एउटा बिन्दुमा कमजोरी आएपछि सम्पूर्ण संरचना क्रमशः भत्किन सक्ने चेतावनी दिएका छन्।
मिश्रले बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै लोकतन्त्रलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न संविधानको ढाँचाभित्र राजसंस्थालाई स्थान दिनुपर्ने धारणा सार्वजनिक गर्न हमाललाई आग्रह गरेका छन्।
उनका अनुसार लोकतन्त्रको संरक्षण, राष्ट्रिय एकता र दीर्घकालीन स्थायित्वका लागि ‘शान्तिपूर्ण संक्रमण’ र ‘नवीन समझदारी’ आवश्यक रहेको बताएका छन्।
मिश्रले संविधानविद् डा. विपिन अधिकारीले पनि पछिल्लो समय संविधानको फ्रेमवर्कभित्र राजसंस्थाबारे स्पष्ट धारणा राखेको उल्लेख गर्दै अभिनेत्री मनिषा कोइराला पनि यस विषयमा पहिलेदेखि नै स्पष्ट रहेको बताएका छन्।
पत्रको अन्त्यमा उनले वर्तमान अवस्थालाई केवल ‘देश बनिरहेको’ नभई ‘घस्रिरहेको’ अवस्था भएको टिप्पणी गर्दै राष्ट्रको दीर्घकालीन हितका लागि प्रतिष्ठित व्यक्तिहरूले समयमै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया