काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनलाई हल्का रूपमा लिन खोजिए मुलुक फेरि द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्। उनले वर्तमान सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संविधान संशोधनजस्तो संवेदनशील विषयमा पर्याप्त गम्भीर नदेखिएको आरोप लगाउँदै कांग्रेसले त्यसप्रति निरन्तर खबरदारी गर्ने स्पष्ट पारे।
शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले संविधान संशोधन राजनीतिक सुविधाका लागि होइन, राष्ट्रिय सहमति र संवैधानिक मूल्य–मान्यताका आधारमा हुनुपर्ने बताए।
उनले समानुपातिक समावेशी व्यवस्थाजस्ता संविधानले सुनिश्चित गरेका उपलब्धि कुनै पनि हालतमा कमजोर बनाउन नहुने उल्लेख गरे।
‘संशोधनका नाममा समानुपातिक समावेशी व्यवस्थालाई कमजोर पार्ने छुट कसैलाई छैन। आवश्यक परे यसलाई अझ सुदृढ बनाउन सकिन्छ, तर घटाउन सकिँदैन,’ थापाले भने, ‘कांग्रेसले सरकार र रास्वपालाई निरन्तर सचेत गराउनेछ। संविधान संशोधनलाई हल्का रूपमा अघि बढाउन दिँदैन।’
सभापति थापाले सरकारका पछिल्ला गतिविधिप्रति पनि असन्तुष्टि व्यक्त गर्दै राज्य सञ्चालनमा जिम्मेवारी र अनुशासन आवश्यक रहेको बताए। सरकार आफैंले अस्थिरता निम्त्याउने शैलीमा अघि बढेको आरोप लगाउँदै उनले यस्ता प्रवृत्तिले सुशासन र लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने चेतावनी दिए।
उनले विभिन्न आन्दोलनरत पक्षसँग सरकारले गरेका सहमतिहरू कार्यान्वयन नभएको उल्लेख गर्दै प्रतिबद्धता पूरा नगर्दा सरकारप्रतिको जनविश्वास कमजोर हुँदै गएको टिप्पणी गरे।
प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया