काठमाडौं । बाँके निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार निर्वाचन क्षेत्रमा लामो समयदेखि नदेखिएको भन्दै सामाजिक सञ्जालमा उनको खोजी अभियानको शैलीमा असन्तुष्टि व्यक्त गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा बाँकेकै स्थानीय विक्रम ओलीले सांसद सुनार ‘हराएको’ भन्दै सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक सूचना सार्वजनिक गरेका छन्। उनले सांसदलाई भेटाएर ल्याउने व्यक्तिलाई ‘उचित पुरस्कार’ दिने घोषणा गर्दै जनप्रतिनिधिले निर्वाचन क्षेत्रका नागरिकसँग नियमित सम्पर्कमा रहनुपर्ने बताएका छन्।

ओलीले आफ्नो सामाजिक सञ्जाल पोस्टमा सांसद सुनारलाई जनताको अभिभावकको भूमिकामा रहेर बाँके आउन आग्रह गरेका छन्। उनले निर्वाचित भएपछि जनताको गुनासो र समस्याबाट टाढिन नहुने उल्लेख गर्दै समयमै सचेत हुन आग्रह गरेका हुन्।

उनले लेखेका छन्, ‘हाम्रा माननीय खगेन्द्र सुनारज्यू, हाम्रो अभिभावक भएर बाँकेवासी जनताको गुनासो र समस्या सुन्न जिल्लामा आउनुहोस्। जितेपछि जनतालाई बिर्सिनुहुँदैन, बेलैमा सचिऔं।’

उनले थप लेखेका छन्, ‘दिनभरि चर्ने जनावर पनि साँझ घर फर्किन्छ, तर मोह र पदको घमण्डमा आफ्नो घर, आफ्नो जनता र आफ्नो जिम्मेवारी बिर्सनुहुँदैन। यदि जनताको आवाज बेवास्ता गरियो भने आवश्यक परे हामी बाँकेका बासिन्दा तपाईंलाई माइतीघर वा सिंहदरबारमै खोज्न आउन बाध्य हुनेछौँ।’

ओली रास्वपाको विधेयक मन्थन विभागका सदस्य हुन्। उनी पार्टीको चितवनमा सम्पन्न प्रथम महाधिवेशनका प्रतिनिधिसमेत रहेका थिए।

सामाजिक सञ्जालमा ओलीले गरेको पोस्टपछि बाँके निर्वाचन क्षेत्र नम्बर–३ का अन्य स्थानीयले पनि सांसद सुनार निर्वाचन क्षेत्रमा कम देखिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com