काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले आफ्नै पार्टी नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै चुनावअघि गरिएका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै प्रसाईंले जनतासँग गरिएको ‘नो लाइन, केवल अनलाइन’ भन्ने वाचा अहिले वास्तविकतासँग मेल नखाने अवस्थामा पुगेको टिप्पणी गरे।
‘निर्वाचनका बेला हामीले “नो लाइन, केवल अनलाइन” भन्ने नारासहित जनताको मत मागेका थियौँ,’ उनले भने, ‘तर आज अवस्था उल्टो छ। अनलाइन सेवा प्रभावकारी बन्नुको सट्टा नागरिकहरू बजार र सरकारी कार्यालयमा लामो लाइन बस्न बाध्य छन्।’
सरकारी सेवालाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता कार्यान्वयनमा कमजोर देखिएको उल्लेख गर्दै उनले अनलाइन प्रणालीमा बारम्बार देखिने प्राविधिक समस्याका कारण सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपरेको बताए।
‘अनलाइन सेवा भनिए पनि सर्भर पटक–पटक अवरुद्ध हुन्छ। सेवा लिन आउने नागरिकले घण्टौँ कुर्नुपर्छ,’ उनले भने।
प्रसाईंले ग्यास आपूर्तिमा देखिएको समस्या पनि तत्काल समाधान गर्न सरकारसँग माग गर्दै लामो लाइनमा बसेपछि पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाइरहेको अवस्था अन्त्य गर्न आग्रह गरे।
उनले जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह सुधार्न र चुनावी प्रतिबद्धतालाई व्यवहारमा उतार्न सरकारलाई ध्यानाकर्षण गराए।
प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया