इटहरी । मकालु वाइन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीको विशेष साधारण सभाले जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।
इटहरीस्थित होटल सोल्टी वेस्टेन्डमा सम्पन्न विशेष साधारण सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।
आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनीले यसअघि नै रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।
विशेष साधारण सभाले संस्थापक शेयरको अंकित मूल्यमा प्रतिशेयर १२५ रुपैयाँ प्रिमियम थप गरी मूल्य कायम गर्ने निर्णयसमेत गरेको छ।
संखुवासभाको धर्मदेवी नगरपालिका–३ मा वि.सं. २०५२ सालमा स्थापना भएको मकालु वाइन इन्डस्ट्रीजले करिब ३१ वर्षदेखि स्थानीय प्राकृतिक स्रोतमा आधारित अर्गानिक वाइन उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ।
समुद्र सतहबाट करिब २ हजार ८ सय मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा स्थानीय रूपमा पाइने चुत्रो र ऐँसेलुबाट कम्पनीले ‘हिंवा वाइन’ उत्पादन गर्दै आएको छ। कम्पनीका अनुसार यो नेपालकै पहिलो वाइन उद्योग हो।
हाल कम्पनीले आधुनिक प्रविधिको प्रयोग गरी चुत्रोबाट ‘हिंवा रेड वाइन’ र ऐँसेलुबाट ‘हिंवा ह्वाइट वाइन’ उत्पादन गर्दै आएको छ। यी उत्पादन ७५० मिलिलिटर र ४ लिटरको प्याकेजमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादित तीन प्रकारका ७५० मिलिलिटरका प्रिमियम वाइनसमेत बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ।
मकालु वाइनमा देवश्री भेन्चर, हार्भेस्ट भेन्चर, बिर्तामोड सञ्जीवनी इन्भेष्टमेन्ट र स्टक आइडियाज इन्भेष्टमेन्टलगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको कम्पनीले जनाएको छ।
सर्वसाधारणका लागि आईपीओ निष्कासनसँगै नेपालको अर्गानिक वाइन उद्योगलाई पूँजी बजारसँग जोड्ने नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार













प्रतिक्रिया