काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जेनजी आन्दोलनपछि देशको स्वाधीनता जोखिममा परेको दाबी गरेका छन्। उनले देशको सार्वभौमिकता र प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।
शनिबार आयोजित आठ दलको अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै यादवले मुलुकमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि उत्पीडित समुदायले अझै न्याय र अधिकार प्राप्त गर्न नसकेको बताए। ती समुदायको अधिकार सुनिश्चित गर्न मोर्चाले संघर्ष गर्ने उनको भनाइ थियो।
यादवले मुलुकमा सर्वसत्तावादी प्रवृत्ति बढ्दै गएको र त्यसले अन्ततः अधिनायकवादलाई जन्म दिन सक्ने दाबी गरे। जनताले लामो संघर्षबाट प्राप्त गरेका राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको भन्दै उनले ती उपलब्धिको संरक्षणका लागि मोर्चा अघि बढेको बताए।
उनले नेपालको संविधानलाई थप समावेशी बनाउन आवश्यक रहेको उल्लेख गर्दै संविधान संशोधनका लागि पनि मोर्चाले संघर्ष गर्ने बताए।
‘देशमा न सुशासन छ, न भ्रष्टाचार अन्त्य भएको छ। आर्थिक रूपमा देश जर्जर अवस्थामा पुगेको छ,’ यादवले भने।
उनले देशमा अग्रगामी परिवर्तनका लागि जनता जागिसकेको दाबी गर्दै जनताको शक्तिकै आधारमा मोर्चा गठन भएको बताए। सरकारले मोर्चाले उठाएका विषयलाई सम्मान गर्नुपर्ने भन्दै उनले सबै समुदाय र वर्गका लागि अग्रगामी परिवर्तन सुनिश्चित नभए संघर्षलाई निरन्तरता दिने चेतावनी दिए।
यादवले आगामी दिनमा अन्य परिवर्तनकामी राजनीतिक तथा सामाजिक संगठनहरू पनि मोर्चामा सहभागी हुने बताए। विभेदमा परेका तथा अधिकारबाट वञ्चित समुदायलाई साझा अभियानमा जोड्दै अघि बढ्ने उनको भनाइ थियो।
मोर्चाबाट कोही पनि आतंकित हुनुपर्ने अवस्था नरहेको दाबी गर्दै यादवले जनताको अधिकार र राजनीतिक उपलब्धिको संरक्षणका लागि मोर्चा गठन गरिएको स्पष्ट पारे।
उनले सरकारले सबै राजबन्दीलाई तत्काल रिहा गर्नुपर्ने मागसमेत गरे।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार












प्रतिक्रिया