काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष धवलशम्शेर राणाले आफ्नो पार्टीको आन्दोलन कुनै व्यक्ति विशेषलाई राजा बनाउने उद्देश्यले नभई राजसंस्था पुनःस्थापनाका लागि केन्द्रित रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राणाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सक्रिय राजनीतिमा ल्याउने पार्टीको कुनै योजना नरहेको स्पष्ट पारे।
‘हामीले व्यक्तिलाई राजा बनाउन होइन, राजसंस्था ल्याउन संघर्ष गरेका हौँ,’ उनले भने, ‘प्रतिनिधित्व गर्ने व्यक्ति समयअनुसार परिवर्तन हुन सक्छन्, तर संस्था स्थायी हुन्छ। देश चलाउने र राजनीति गर्ने काम नेपालीका छोराछोरीको हो, राजाले राजनीति गर्ने होइन।’
राणाले राजालाई दलगत राजनीतिमा संलग्न गराउने पक्षमा आफूहरू नरहेको दोहोर्याए। राजसंस्था पुनःस्थापना भए पनि राजालाई प्रत्यक्ष राजनीतिमा ल्याउन नहुने उनको भनाइ थियो।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराउन नसकेपछि तत्कालीन राजालाई सत्ता हस्तान्तरण गरेको प्रसङ्ग उल्लेख गर्दै राणाले पुनः राजालाई दलीय राजनीतिमा तानेर विवादमा ल्याउने पक्षमा आफूहरू नरहेको बताए।
उनले राजसंस्थालाई व्यक्तिभन्दा माथिको संस्थाका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्दै आफूहरूको राजनीतिक संघर्ष त्यसै उद्देश्यमा केन्द्रित रहेको स्पष्ट पारे।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार












प्रतिक्रिया