काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीयता, धर्मनिरपेक्षता, समावेशिता तथा लोकतान्त्रिक गणतन्त्रका उपलब्धि कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले नेपालको लोकतान्त्रिक आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आदिवासी जनजाति समुदायले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको स्मरण गरे।

उनले नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको उल्लेख गर्दै यी उपलब्धि कसैको कृपा वा दयाबाट प्राप्त नभएको बताए।

‘यी उपलब्धि जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएका हुन्। त्यसैले तिनलाई कमजोर पार्ने वा उल्ट्याउने प्रयास कुनै पनि हालतमा स्वीकार्य हुँदैन,’ आङदेम्बेको भनाइ छ।

सरकारका पछिल्ला गतिविधि तथा अभिव्यक्तिले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउनेभन्दा कमजोर पार्ने दिशातर्फ संकेत गरेको उनको टिप्पणी छ।

यद्यपि संविधानमा रहेका कमजोरी र कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक समस्या भने संशोधन तथा परिमार्जनमार्फत सुधार गर्न सकिने उनले बताए। तर जनसंघर्षबाट प्राप्त मूल राजनीतिक उपलब्धि नै समाप्त पार्ने प्रयास स्वीकार गर्न नसकिने उनको स्पष्ट धारणा छ।

आदिवासी जनजाति समुदायको पहिचान, भाषा, संस्कृति तथा अधिकारलाई व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै आङदेम्बेले राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व र पहिचानसहितको संघीयतालाई संस्थागत गर्नुपर्ने बताए।

विश्व आदिवासी दिवसका अवसरमा उनले समावेशी, समान र न्यायपूर्ण नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै नेपाल तथा विश्वभर रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com