काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कानुनको दायरामा रहेर व्यापार–व्यवसाय सञ्चालन गर्ने निजी क्षेत्रलाई अपराधीका रूपमा चित्रित गर्न नहुने बताएका छन्। तर सरकारी सम्पत्ति वा सुविधा राजनीतिक पहुँचका आधारमा गैरकानुनी रूपमा लिएको वा राज्यलाई नोक्सानी पुर्याएको भए त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्ने उनको भनाइ छ।
नेपाली युवा उद्यमी मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले विगतका सरकार वा राजनीतिक नेतृत्वसँगको पहुँचका आधारमा सरकारी सम्पत्ति सस्तोमा लिजमा लिने, खरिद गर्ने वा राज्यलाई घाटा हुने गरी सुविधा प्राप्त गर्ने प्रवृत्तिमाथि छानबिन आवश्यक रहेको बताए।
‘कसैले गैरकानुनी रूपमा राज्यको सम्पत्ति लिएको छ, सरकारलाई प्रभावित पारेर सस्तोमा लिजमा लिएको छ वा राज्यलाई घाटा हुने काम गरेको छ भने त्यसको अनुसन्धान हुनुपर्छ,’ उनले भने, ‘तर कानुनको दायराभित्र रहेर व्यापार–व्यवसाय गर्ने व्यक्तिलाई अपराधीको रूपमा हेर्नु हुँदैन।’
लामिछानेले रास्वपाले निजी क्षेत्रका व्यवसायी तथा उद्यमीबाट राजनीतिक चन्दा नलिने दाबी गर्दै व्यवसायीले आफ्नो व्यापार सुरक्षित गर्न राजनीतिक दल वा नेताको संरक्षण खोज्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।
‘तपाईंहरू आफ्नो व्यापार, व्यवसाय, उद्योग र कर्मचारीमा ध्यान दिनुस्। नेताले तपाईंलाई संरक्षण गर्नुपर्ने होइन, देशको नीतिले तपाईंलाई संरक्षण गर्नुपर्छ,’ उनले भने।
राजनीतिक दललाई चन्दा दिएर व्यवसाय सुरक्षित गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले पारदर्शी रूपमा राजनीतिक दललाई सहयोग गर्न चाहनेलाई त्यसको अधिकार भए पनि राजनीतिक संरक्षणकै लागि व्यवसायीले चन्दा दिनुपर्ने अवस्था हटाउनुपर्ने बताए।
उनका अनुसार रोजगारी सिर्जना, उद्यमशीलताको प्रवर्द्धन र निजी क्षेत्रको विकासका लागि अनुकूल नीतिगत वातावरण निर्माण गर्नु रास्वपाको प्राथमिकतामा छ। उद्यमी तथा व्यवसायीले भोगिरहेका समस्या र नीतिगत कठिनाइ पहिचान गर्न संसद्मा विशेष छलफल तथा ‘राउन्ड टेबल’ कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
‘हामी व्यवसायी र युवा उद्यमीसँग राउन्ड टेबलमा बसेर समस्या सुन्छौँ। नीतिगत रूपमा कहाँ ग्याप छ र त्यसलाई कसरी पूरा गर्ने भन्ने विषयमा छलफल गर्छौँ,’ लामिछानेले भने।
नयाँ सरकार र राजनीतिक नेतृत्वले सुरुवाती चरणमै स्पष्ट प्राथमिकता निर्धारण गरेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले अहिलेको सरकार जग निर्माण गर्ने चरणमा रहेको बताए।
‘जग बलियो भयो भने मात्रै त्यसमा सुन्दर संरचना बनाउन सकिन्छ। अहिले हामी जग बनाउने चरणमा छौँ,’ उनले भने, ‘हामी पुस्तौँपुस्ता राजनीति गरिरहने होइन, आफ्नो अवधिभर इमानदारीका साथ काम गरेर बलियो संरचना निर्माण गर्ने पक्षमा छौँ।’
सरकारले आफ्ना प्रतिबद्धता र निर्धारित लक्ष्यअनुसार काम गर्नुपर्ने भन्दै लामिछानेले सरकार सही दिशाबाट विचलित भए रास्वपाले राजनीतिक दबाब सिर्जना गर्ने चेतावनीसमेत दिए।
‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ भने हामी साथ दिन्छौँ। सरकार बाटो बिरायो भने राजनीतिक दलका रूपमा आवश्यक कदम चालेर पुनः सही बाटोमा ल्याउने काम गर्छौँ,’ उनले भने।
प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार













प्रतिक्रिया