काठमाडौं । ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोपमा प्रहरीले वरिष्ठ स्त्रीरोग तथा टेस्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्मासँग बयान लिएको छ ।

ललितपुर प्रहरीका अनुसार असार १४ गते किशोरीको डिम्ब निकालिएको घटनामा डा. शर्माको संलग्नता देखिएपछि उनीमाथि अनुसन्धान भइरहेको छ ।

प्रहरीले शुक्रबार डा. शर्माको बयान लिएर हाजिर जमानीमा रिहा गरेको ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सरकारी वकिल कार्यालयको सहमतिमा उनलाई हाजिर जमानीमा राखेर अनुसन्धान अघि बढाइएको हो ।

किशोरीको डिम्ब निकाल्ने चिकित्सक तथा घटनामा संलग्न भनिएका बिचौलियामाथि अनुसन्धान र कारबाहीको माग गर्दै पीडित परिवारले साउन १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए ।

यसअघि प्रहरीले लमजुङ घर भई इमाडोलमा ब्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको थियो । उनलाई पनि हाजिर जमानीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले डा. शर्मालाई पक्राउ गर्न यसअघि दुई पटक अदालतबाट अनुमति मागेको थियो । तर अदालतबाट अनुमति नपाएपछि सरकारी वकिलको निर्देशनअनुसार बिचौलिया गोतामेलाई समेत हाजिर जमानीमा राखेर थप प्रमाण संकलन तथा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार किशोरीलाई ३० हजार रुपैयाँ दिएर डिम्ब निकालिएको प्रारम्भिक विवरण खुलेको छ । डिम्ब निकालिएपछि किशोरी बिरामी परेपछि मात्रै परिवारले घटनाबारे जानकारी पाएको बताइएको छ ।

घटनामा संलग्न अन्य व्यक्ति तथा प्रक्रियाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com