काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र प्रतिबद्धताअनुसार काम नगरे राजनीतिक रूपमा हस्तक्षेप गरेर सही बाटोमा ल्याउने बताएका छन् ।
सरकारको कार्यशैली र स्थायित्वबारे टिप्पणी गर्दै लामिछानेले सरकार आफ्नो मार्गबाट विचलित भए सच्याउने राजनीतिक क्षमता रास्वपासँग रहेको दाबी गरे । यद्यपि, अहिले नै सरकार असफल भइसकेको अवस्था नरहेको र त्यस्तो परिस्थिति आउन नदिन आफूहरू सचेत रहेको उनको भनाइ छ ।
उनले सरकार सञ्चालनको अवस्थालाई हवाई यात्रासँग तुलना गर्दै यात्राका क्रममा आउने अस्थायी अवरोधबाट आत्तिन नहुने बताए ।
‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ । काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ,’ लामिछानेले भने, ‘आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ । तर अहिले त्यो अवस्था आएको छैन र आउन पनि दिँदैनौँ ।’
सरकार आफ्नो ‘लिक’ बाट बाहिरिए पुनः सही मार्गमा फर्काएर सहज रूपमा अघि बढाउने उनले बताए ।
लामिछानेले सरकारको यात्रा क्रममा आउने उतारचढावलाई ‘टर्बुलेन्स’सँग तुलना गर्दै त्यस्ता अवरोधलाई लिएर चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए ।
‘यो यात्रामा कहिलेकाहीँ टर्बुलेन्स आउँछन् । बादलका टुक्राबीच जहाज हिँड्दा जहाज हल्लिन सक्छ । तर जहाज हल्लिँदैमा दुर्घटना हुन्छ कि भनेर डराउनुपर्दैन,’ उनले भने, ‘त्यसैले सिट ब्याक एन्ड रिल्याक्स । हामी असल नियत र सही दिशाका साथ यो यात्रालाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउँछौँ ।’
उनले सरकारलाई लक्ष्यअनुसार काम गर्न आवश्यक सहयोग गर्ने र गलत दिशातर्फ अघि बढे सच्याउने भूमिका निर्वाह गर्ने बताउँदै आम नागरिकलाई ढुक्क रहन आग्रह गरे ।
प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार













प्रतिक्रिया