काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आदिवासी जनजातिका संवैधानिक अधिकारको पूर्ण कार्यान्वयन, पहिचानको सम्मान तथा भाषा–संस्कृतिको संरक्षणका लागि कांग्रेस निरन्तर प्रतिबद्ध रहेको बताएका छन्।
विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकार व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्।
नेपालको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा तथा प्राकृतिक स्रोत–साधनको संरक्षण र समृद्धिमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको उनले उल्लेख गरेका छन्।
राज्यका सबै तहमा आदिवासी जनजातिको समतामूलक र न्यायपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राख्दै थापाले पहिचान र अधिकारलाई व्यवहारमै स्थापित गर्नुपर्ने बताएका छन्।
‘संविधानले सुनिश्चित गरेका आदिवासीका अधिकारहरूको पूर्ण कार्यान्वयन, पहिचानको सम्मान, भाषा–संस्कृतिको संरक्षण र राज्यका हरेक तहमा समतामूलक सहभागिताका लागि हामी निरन्तर प्रतिबद्ध छौँ,’ थापाले सन्देशमा भनेका छन्।
उनले आदिवासी जनजातिको अधिकार, पहिचान र सहभागितालाई थप सुदृढ बनाउँदै समावेशी तथा न्यायपूर्ण समाज निर्माण गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन्।
प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार













प्रतिक्रिया