काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्।

ढकालले नेपालमा सिंह नै नपाइने भएकाले ‘सिंहदरबार’ नामको औचित्यमाथि प्रश्न उठाउँदै नाम परिवर्तन गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए। उनले सिंहदरबारको सट्टा नयाँ नाम राख्नुपर्ने प्रस्ताव गरेका थिए।

ढकालको उक्त भनाइप्रति प्रतिक्रिया जनाउँदै राप्रपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।

श्रेष्ठले लेखेका छन्, ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन्! जसको मनमा हरि नै छैन, उसको नाम चाहिँ हरि? गोबर नाम राखे हुन्न?’

ढकालले एक कार्यक्रममा बोल्दै नेपालको प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने बताएका थिए। नाम परिवर्तनसँगै सिंहदरबारको कार्यशैली र प्रशासनिक प्रवृत्तिमा समेत सुधार आवश्यक रहेको उनको भनाइ थियो।

ढकालको उक्त प्रस्तावपछि सामाजिक सञ्जालमा समेत पक्ष–विपक्षमा विभिन्न प्रतिक्रिया देखिएका छन्।

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com