काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा अनिश्चितता, हतासा र आक्रोश गरी तीनथरी धारणा देखिएको बताएका छन्।
कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै सभापति थापाले पछिल्लो समय नागरिकसँगको संवादका क्रममा आफूले यस्तो अवस्था पाएको बताए। उनका अनुसार केही नागरिक भविष्यप्रति अनिश्चित देखिएका छन् भने केहीमा लामो समयदेखि अपेक्षा पूरा नभएको भन्दै हतासा बढेको छ। त्यस्तै, अर्को समूहमा सरकार र राजनीतिक नेतृत्वप्रति तीव्र आक्रोश रहेको उनले बताए।
‘केही नागरिकमा अनिश्चितता भएको पाउँछु। केहीसँग कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन, भोलि पनि हुँदैन कि भन्ने हतासा देखिन्छ। केही नागरिकमा भने आक्रोश छ,’ थापाले भने।
नागरिकमा बढ्दै गएको यही असन्तुष्टिको प्रतिबिम्बका रूपमा प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शनिबारको अभिव्यक्तिलाई आफूले बुझेको उनले बताए।
तर नागरिकमा देखिएको आक्रोशबाट कांग्रेस उत्साहित हुन नहुने भन्दै थापाले त्यसलाई गम्भीर चिन्ताको विषयका रूपमा लिनुपर्ने धारणा राखे।
उनले यसअघि पनि नागरिकमा बढ्दै गएको असन्तुष्टिबारे आफूले पार्टीभित्र र संसद्मा पटक–पटक सचेत गराउँदै आएको स्मरण गरे। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै उनले नागरिक राजनीतिक नेतृत्वसँग असन्तुष्ट रहेको विषय आफूले संसद्मा समेत उठाएको बताए।
थापाले नागरिकको असन्तुष्टि र आक्रोशलाई बेवास्ता गरे त्यसले राजनीतिक प्रतिरोधको रूप लिन सक्ने चेतावनी आफूले त्यतिबेलै दिएको बताए।
‘जनताको बारेमा कसैले जिम्मेवारी लिन आवश्यक छैन भनियो। नागरिक र जनताको बारेमा तिमीहरूले भनेर हुँदैन भनियो। हामीले जितेर आएका हौँ भनियो,’ उनले विगतको राजनीतिक अवस्थालाई स्मरण गर्दै भने।
उनले पछिल्ला राजनीतिक घटनाक्रमलाई अचानक उत्पन्न भएको परिस्थितिका रूपमा बुझ्न नहुने बताए। भदौ २३ र २४ गते भएका घटनाहरू एकाएक सिर्जना नभएको उल्लेख गर्दै थापाले लामो समयदेखि सञ्चित हुँदै आएको नागरिक असन्तुष्टि र आक्रोश पछिल्लो समय विभिन्न रूपमा अभिव्यक्त भइरहेको दाबी गरे।
उनका अनुसार उक्त आक्रोशको एउटा महत्वपूर्ण अभिव्यक्ति फागुन २१ गतेको निर्वाचनमा मतपत्रमार्फत देखिएको थियो। त्यसैले नागरिकको भावना र बढ्दो असन्तुष्टिलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने थापाको भनाइ छ।
प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार












प्रतिक्रिया