काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनबाट भएका निर्णय पूर्णतः वैधानिक रहेको दाबी गर्दै अदालतमा पुगेको विवादको पार्टीले दृढतापूर्वक प्रतिवाद गर्ने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले निर्वाचन आयोगको निर्णयमाथि प्रश्न उठेपछि विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विषय पुनः अदालत पुगेको बताए। उनले यस विषयमा पार्टीले आफ्नो धारणा स्पष्ट रूपमा राख्ने बताए।
विशेष महाधिवेशनको वैधानिकताप्रति कांग्रेस दृढ रहेको उल्लेख गर्दै थापाले भने, ‘हिजो विशेष महाधिवेशन भएको कुरा त्यहाँको हलमा सत्य थियो, निर्वाचन आयोगमा सत्य थियो र अदालतमा एकपटक सत्य भएको कुरा अहिले पनि सत्य नै हुन्छ। अब सानका साथ अदालत जाने र त्यसको डिफेन्ड गर्ने हो।’
अदालतमा विचाराधीन विषयमा विभिन्न व्यक्ति वा राजनीतिक पात्रले दिएका अभिव्यक्तिका आधारमा पार्टी संस्थामाथि प्रश्न उठाउन नहुने उनको भनाइ थियो।
अदालतको पछिल्लो निर्णयसँग सम्बन्धित विभिन्न सूचना आफूलाई समेत आउने गरेको उल्लेख गर्दै थापाले त्यस्ता सूचना वा चर्चालाई तत्कालको राजनीतिक बहसको आधार बनाउन नहुने बताए।
व्यक्ति विशेषका कारण संस्थाप्रतिको विश्वास कमजोर पार्ने काम गर्न नहुने भन्दै उनले कांग्रेसले न्यायालयप्रति पूर्ण विश्वास राख्ने स्पष्ट पारे। अदालतले बोलाएको अवस्थामा उपस्थित भएर पार्टीले आफ्ना धारणा र प्रमाण प्रस्तुत गर्ने उनको भनाइ थियो।
यसैबीच सभापति थापाले विशेष महाधिवेशनमा सहभागी भएका र सहभागी नभएका दुवै पक्षका नेता तथा कार्यकर्ताको पार्टीभित्र समान हैसियत रहेको बताए।
‘यो पार्टी विशेष महाधिवेशनमा भाग लिने साथीहरूको मात्रै होइन, भाग नलिने साथीहरूको पनि उत्तिकै हो। सबैको हक बराबर छ, यहाँ कोही पहिलो र कोही दोस्रो दर्जाको छैन,’ उनले भने।
उनले विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवादका कारण पार्टीभित्र विभाजन वा असमान व्यवहारको अवस्था सिर्जना हुन नदिने संकेत गर्दै सबै नेता–कार्यकर्तालाई समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार













प्रतिक्रिया