काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हेटौँडा कपडा उद्योगलाई दीर्घकालीन र प्रभावकारी रूपमा सञ्चालन गर्न निजी क्षेत्रलाई साझेदार बनाउनुपर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने विषयमा समेत सरकारले विशेष ध्यान दिनुपर्ने बताए।
उनले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद दिँदै उद्योगलाई दिगो रूपमा सञ्चालन गर्न दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरे।
‘हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद। कपडा उद्योगलाई आवश्यक कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकारले ध्यान दिइयोस्,’ घिसिङले भने।
उनका अनुसार उद्योगलाई निरन्तर, प्रभावकारी र प्रतिस्पर्धी ढंगले सञ्चालन गर्न निजी क्षेत्रको दक्षता र लगानीलाई उपयोग गर्न सकिन्छ। त्यसका लागि सरकारले निजी क्षेत्रलाई साझेदारीमा ल्याउने नीति अवलम्बन गर्नुपर्ने उनले बताए।
‘उद्योगलाई दीर्घकालीन रूपमा निरन्तर र प्रभावकारी ढंगले सञ्चालन गर्न निजी क्षेत्रलाई साझेदारीमा ल्याउन जरुरी छ। यसतर्फ पनि सरकारले ध्यान दिनुपर्छ,’ उनले भने।
प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार













प्रतिक्रिया