काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिलाई संवाद तथा सुधारमार्फत समाधान गर्दै संगठनलाई एकताबद्ध राख्न नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।
पार्टीको इतर समूहले राष्ट्रिय भेला आयोजना गरेको सन्दर्भमा नेता भण्डारीले कांग्रेस विभाजन हुन नदिन सबै पक्ष गम्भीर बन्नुपर्ने धारणा राखेका हुन्।
सामाजिक सञ्जालमार्फत उनले पार्टीको वर्तमान अवस्थालाई संकटका बेला आश्रय दिने पुरानो घरसँग तुलना गर्दै विभाजनको बाटो रोज्नुको साटो कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताएका छन्।
उनले लेखेका छन्, ‘साथी हो, पार्टी फुट्न दिनु हुँदैन है। पुरानो हो, संकटमा काम लाग्न सक्छ। वर्षाको समयमा घर भत्काउँदा सबै भिज्नुपर्छ। असिना आयो भने ज्यान पनि जान सक्छ।’
भण्डारीले पार्टीमा कमजोरी भए त्यसलाई स्वीकार गर्दै सुधार गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार आन्तरिक असन्तुष्टि र कमजोरीलाई आधार बनाएर पार्टी विभाजनतर्फ जानुभन्दा संगठनलाई थप सुदृढ बनाउँदै अघि बढ्नु आवश्यक छ।
उनले कांग्रेसको इतिहास र योगदानलाई स्मरण गर्दै पार्टीको आधार निर्माणमा धेरै नेता–कार्यकर्ताको त्याग र बलिदान जोडिएको उल्लेख गरेका छन्।
‘घरका हरेक ढुङ्गा रगतले मुछिएको माटोले अडेको छ, खाँवाहरू शहीदका हड्डी हुन्। विगतमा सत्ताले भुलेको पक्कै हो। मर्यादालाई नबिर्सी,’ भण्डारीले भनेका छन्।
उनले पार्टीभित्रका असहमति र कमजोरी सुधार्नुपर्ने भए पनि त्यसका नाममा संगठनलाई विभाजन गर्न नहुने धारणा राखेका छन्।
प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार













प्रतिक्रिया