गुल्मी । निर्माण सुरु भएको करिब पाँच वर्ष पुग्न लाग्दासमेत गुल्मी अस्पतालको नयाँ भवन सम्पन्न हुन नसकेपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले तत्काल ठेक्का रद्द गरी नयाँ प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भएको पाँचतले भवन पटक–पटक म्याद थप्दा पनि पूरा नभएपछि स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले ठेक्का तोड्न निर्देशन दिएका हुन्।

अनुगमनका क्रममा मन्त्री लम्सालले सम्बन्धित अधिकारीलाई भने, ‘आजै ठेक्का तोडौँ। काम गरेको भुक्तानी दिएर आजै टुङ्गो लगाउनुस्।’

अनुगमनमा सहभागी सञ्चारकर्मीले उक्त ठेक्का बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँसँग जोडिएको स्वच्छन्द–बानियाँ जेभीले लिएको भन्दै ठेक्का तोड्न सकिने विषयमा प्रश्न गरेका थिए।

जवाफमा मन्त्री लम्सालले ठेकेदारको राजनीतिक वा व्यक्तिगत सम्बन्धभन्दा आयोजना समयमै सम्पन्न हुनु महत्वपूर्ण रहेको स्पष्ट पारे। ‘मुख्यमन्त्री होस् वा जोसुकै होस्, पाँच वर्षसम्म आयोजना अलपत्र पार्नेलाई अब कुर्न सकिँदैन,’ उनले भने।

मन्त्री लम्सालले आफूलाई निर्माण कम्पनी वा ठेकेदार को हो भन्ने विषयमा कुनै सरोकार नरहेको भन्दै निर्धारित समयमै निर्माण सम्पन्न हुनुपर्नेमा आफू स्पष्ट रहेको बताए। निर्माणमा भइरहेको ढिलाइ कुनै पनि अवस्थामा स्वीकार्य नहुने उनको भनाइ थियो।

९२ प्रतिशत काम पूरा, अझै ६ करोडको काम बाँकी

गुल्मी अस्पतालको नयाँ भवन निर्माणका लागि २०७८ असार १८ गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०८० असार १७ गतेभित्र भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो।

२५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँ लागतमा निर्माण भइरहेको पाँचतले भवनको भौतिक प्रगति ९२ प्रतिशतभन्दा बढी पुगेको बताइएको छ। यद्यपि करिब ६ करोड रुपैयाँ बराबरको काम अझै बाँकी रहेको छ।

हाल भवनमा पेन्टिङ, वायरिङ, आल्मुनियम जडानलगायतका काम भइरहेका छन्। भारत सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत आयोजनाका लागि रकम उपलब्ध गराइएको थियो।

नयाँ भवन नहुँदा पुरानै साँघुरो भवनमा सेवा

नयाँ भवन निर्माणमा भइरहेको ढिलाइका कारण गुल्मी अस्पतालले अझै पुरानै साँघुरो भवनबाट सेवा प्रवाह गरिरहेको छ। पर्याप्त शय्या, वार्ड र आवश्यक भौतिक पूर्वाधारको अभावमा बिरामी तथा स्वास्थ्यकर्मी दुवैले समस्या झेल्दै आएका छन्।

गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालका अनुसार जिल्लाका विभिन्न स्थानीय तहसँगै छिमेकी जिल्लाबाट समेत दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्। तर पुरानो भवनमा पर्याप्त स्थान नहुँदा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भइरहेको छ।

नयाँ भवन सञ्चालनमा आएपछि व्यवस्थित ओपिडी, आकस्मिक, प्रसूति, शल्यक्रिया, प्रयोगशाला, एक्स–रे तथा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अस्पतालको छ। थप शय्या व्यवस्थापनसँगै आइसियु तथा मेडिकल, सर्जिकल र बाल उपचारका लागि छुट्टाछुट्टै कक्ष सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।

तर भवन निर्माणमा भइरहेको ढिलाइले यी सेवा विस्तारका योजना लामो समयदेखि प्रभावित हुँदै आएका छन्।

अस्पताल विकास समिति अध्यक्ष राजेन्द्र पाण्डेले जिल्लावासीले लामो समयदेखि सुविधा सम्पन्न अस्पताल भवनको प्रतीक्षा गरिरहेको भन्दै अब निर्माणमा थप ढिलाइ गर्न नहुने बताए।

उनका अनुसार भवन निर्माणमा भएको ढिलाइले राज्यको ठूलो लगानी उपयोगविहीन बनाउनुका साथै नागरिकले समयमै पाउनुपर्ने स्वास्थ्य सेवासमेत प्रभावित भएको छ।

गुल्मी अस्पताललाई २०७१ सालमै ५० शय्यामा स्तरोन्नति गरिएको थियो। तर आवश्यक भौतिक पूर्वाधारको अभावमा स्वीकृत क्षमताअनुसार अस्पतालको सेवा पूर्ण रूपमा विस्तार हुन सकेको छैन।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com