काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार दिउँसो भेटवार्ता भएको छ। भेटमा संघीय संसद्को चालु अधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आग्रह गरेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार सभामुख अर्यालले संसद्मा प्रधानमन्त्रीको उपस्थिति खोजिएको भन्दै कम्तीमा सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन आग्रह गरेका थिए।
‘संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेको छ। कम्तीमा सदनमा उपस्थित भएर जवाफ दिनुस् भनेर सभामुखले आग्रह गर्नुभयो,’ स्रोतले भन्यो।
यद्यपि, सभामुखको आग्रहप्रति प्रधानमन्त्री शाहले ठोस जवाफ नदिएको स्रोतको दाबी छ।
प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएको विषयलाई लिएर प्रतिपक्षी दलहरूले लगातार प्रश्न उठाउँदै आएका छन्। उनीहरूले सरकारका कामकारबाही तथा समसामयिक विषयमा प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका छन्।
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया