काठमाडौं । प्रतिनिधिसभा सदस्य हर्कराज राईले नेपालमा नागरिकले सुरक्षा, न्याय, सेवा–सुविधा र समान अवसरको अनुभूति गर्न नसकेको बताएका छन्। उनले मुलुकलाई सुरक्षित, न्यायपूर्ण र व्यवस्थित बनाउन सरकार गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले नागरिकको पहिलो अधिकार नै सुरक्षा भए पनि अहिले सांसददेखि सर्वसाधारणसम्म कोही पनि पूर्ण रूपमा सुरक्षित रहेको अनुभूति गर्न नसक्ने अवस्था रहेको बताए।
उनले भने, ‘नेपालमा कोही पनि सुरक्षित छैन। जे पनि हुन सक्ने अवस्था छ। यो देशलाई देशजस्तो बनाएर राख्न हामीले के–के गर्नुपर्छ, त्यसका लागि हामी तयार छौँ। म तयार छु र हाम्रो दल तयार छ।’
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै राईले राज्यका जिम्मेवार पदमा रहेका व्यक्तिबाट आउने अभिव्यक्तिमा गम्भीरता र संवेदनशीलता आवश्यक रहेको बताए।
उनले राजनीतिमा नैतिकता नै शक्ति, आधार र वैधानिकताको मुख्य स्रोत भएको उल्लेख गरे। जनप्रतिनिधिले नैतिक जिम्मेवारी गुमाए जनताले उनीहरूमाथिको विश्वास गुमाउने भन्दै उनले प्रधानमन्त्रीले आफ्नो नैतिक तथा पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने माग गरे।
सांसद राईले प्रधानमन्त्रीलाई लामो समयदेखि संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन आग्रह गरिँदै आए पनि त्यसको बेवास्ता भइरहेको बताए। प्रधानमन्त्रीले संसद्मा उपस्थित नहुने विषयलाई आफ्नो अडानका रूपमा लिन नहुने उनको भनाइ थियो।
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया