काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र शाह संसद् र राजनीतिक संवादबाट टाढिएको भन्दै व्यंग्य गरेका छन्। उनले प्रधानमन्त्री शाह ‘गुप्तवास’ बसेजस्तो भएको टिप्पणी गर्दै संसद्मा उपस्थित भएर जनताका समस्या र सांसदका प्रश्नको सामना गर्न आग्रह गरे।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले मुलुकमा ग्यासको अभाव चर्किएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई त्यसबारे जानकारी नै नहुन सक्ने व्यंग्य गरे।

उनले भने, ‘अहिले देशमा ग्यासको हाहाकार छ। प्रधानमन्त्रीज्यू गुप्तवासमा हुनुहुन्छ। उहाँलाई यो ग्यासको हाहाकारबारे थाहा नहुन सक्छ।’

ग्यासको अभाव समाधानका लागि सरकारले विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न सक्ने उनको सुझाव थियो।

सांसद शर्माले संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन नसकेको तथा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे समेत स्पष्ट जवाफ नआएको भन्दै सभामुखको ध्यानाकर्षण गराए। उनले प्रधानमन्त्रीको विवादास्पद सीमा सम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनसमेत सभामुखसँग आग्रह गरे।

शर्माले प्रधानमन्त्रीलाई ‘गुप्तवास’ अन्त्य गरेर संसद्मा आउन आग्रह गर्दै सकारात्मक काममा अघि बढ्दा सिंगो संसद् सरकारको साथमा उभिने बताए।

उनले भने, ‘प्रधानमन्त्रीलाई भन्न चाहन्छु, गुप्तवास बसुन्जेल तपाईं एक्लै हुनुहुन्छ। तपाईं संसद्मा आउनुभयो भने सांसदहरू तपाईंको साथमा हुन्छन्, संसद् तपाईंको साथमा हुन्छ। तपाईंले सकारात्मक पहल लिनुभयो भने सिंगो संसद् तपाईंको पक्षमा हुन्छ, गलत प्रक्रिया अघि बढ्यो भने सिंगो संसद् विपक्षमा हुन्छ। गुप्तवासमा नबस्नुस्।’

प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउने दलको कार्यालयमा समेत नजाने र राति एक्लै बसेर सामाजिक सञ्जालमा स्ट्याटस लेख्ने गरेको भन्दै शर्माले राजनीतिक दल र संसद्सँग संवाद बढाउन सुझाव दिए।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com