एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानबाट हत्याको धम्की आएपछि गत महिना टर्कीबाट बेलायततर्फ गोप्य रूपमा सानो विमानमार्फत लगिएको खुलासा भएको छ।

‘द वासिङ्टन पोस्ट’ले सोमबार सार्वजनिक गरेको विवरणअनुसार, ट्रम्प जुलाई ८ मा टर्कीको राजधानी अङ्काराबाट बेलायत प्रस्थान गर्दा बाहिरबाट हेर्दा उनी नियमित ‘एयर फोर्स वन’ विमानमै रहेको देखाइएको थियो। तर, सुरक्षाको कारण उनलाई ठूलो विमानबाट छुट्टै सानो सी–३२ए विमानमा सारेर बेलायत पठाइएको थियो।

अमेरिकी एक अधिकारीलाई उद्धृत गर्दै पोस्टले जनाएअनुसार ट्रम्प एयर फोर्स वनमा चढेपछि विमानसँग जोडिएको खानपान सामग्री ओसार्ने कन्टेनर हुँदै सानो सी–३२ए विमानसम्म पुर्‍याइएको थियो। त्यसपछि सी–३२ए ले उनलाई बेलायत लगेको थियो।

यस क्रममा सञ्चारकर्मी तथा केही अधिकारीलाई ट्रम्प ठूलो एयर फोर्स वनमै रहेको विश्वास दिलाइएको थियो। ठूलो विमानमा रहेका पत्रकारलाई समेत झ्यालका पर्दा बन्द गर्न भनिएको थियो। युद्ध क्षेत्रमा सुरक्षाका कारण अपनाइने यस्तो सावधानीले ट्रम्पको सुरक्षालाई लिएर थप आशंका उत्पन्न गरेको थियो।

यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले इरानी प्रोक्सी समूहबाट सम्भावित सुरक्षा खतरा रहेको भन्दै ट्रम्पले टर्कीबाट बाहिरिँदा कतारले अमेरिकालाई उपहार दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग नगरेको जनाएका थिए।

नाटो शिखर सम्मेलनमा सहभागी हुन अङ्कारा पुगेका ट्रम्पले बेलायतमा रहेका अमेरिकी सेनाका सदस्यलाई नयाँ विमान देखाउन सकिने भन्दै पुरानो बोइङ ७४७ प्रयोग गर्ने बताएका थिए। तर, सुरक्षा जोखिमका कारण अन्तिम समयमा विमान परिवर्तन गरिएको बताइएको छ।

कतारको शाही परिवारले ट्रम्पको अनुरोधपछि अमेरिकालाई उक्त विलासी बोइङ ७४७ विमान उपहार दिएको थियो। सन् १९९० देखि राष्ट्रपतिको यात्राका लागि प्रयोग हुँदै आएका पुराना दुई बोइङ ७४७ विमानप्रति ट्रम्पले असन्तुष्टि जनाउँदै आएका थिए। कतारबाट प्राप्त विमानलाई राष्ट्रपतिको प्रयोगका लागि तीव्र रूपमा पुनःसंरचना गरिएको थियो।

जुलाई १ मा पहिलोपटक उक्त विमान प्रयोग गर्दै ट्रम्प नर्थ डकोटा पुगेका थिए। त्यसको केही दिनपछि पहिलो विदेशी भ्रमणका क्रममा उनले सोही विमानमार्फत टर्कीको यात्रा गरेका थिए।

यद्यपि, नयाँ विमानमा पुरानो एयर फोर्स वनमा उपलब्ध सबै सुरक्षा सुविधा, विशेषगरी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, रहेको–नरहेको विषयमा प्रश्न उठ्दै आएको छ।

‘द वासिङ्टन पोस्ट’को रिपोर्टबारे सोधिएको प्रश्नमा ह्वाइट हाउसले भने नयाँ एयर फोर्स वनको सुरक्षा क्षमताको बचाउ गरेको छ। ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीभन चेउङले विमान अत्याधुनिक रहेको र राष्ट्रपति तथा उनका कर्मचारीको सुरक्षाका लागि उच्चस्तरीय सुरक्षा प्रोटोकल लागू गरिएको बताएका छन्।

उनका अनुसार ट्रम्पले आफूलाई धेरै शत्रुबाट खतरा रहेको बताउँदै आएका छन् र सम्भावित जोखिम सामना गर्न सरकारले उपलब्ध सबै सुरक्षा संयन्त्र प्रयोग गरिरहेको छ।

पोस्टले सार्वजनिक गरेको भिडियोमा ट्रम्प ठूलो एयर फोर्स वनमा सिँढी चढेको केही मिनेटपछि सो विमानबाट खानपान सामग्री बोक्ने ट्रक बाहिरिएको देखिन्छ। उक्त ट्रकलाई पछि सानो सी–३२ए विमानतर्फ लगिएको दृश्य भिडियोमा देखाइएको छ।

दुवै विमान बेलायतमा अवतरण गरेपछि ट्रम्प ठूलो विमानबाट ओर्लिएको दृश्यसमेत भिडियोमा देखिन्छ। त्यसपछि उनी नयाँ रूपमा पुनःसंरचना गरिएको एयर फोर्स वनमा पुगेका थिए। यद्यपि, ट्रम्पलाई सानो सी–३२ए विमानबाट ठूलो विमानमा ठ्याक्कै कसरी स्थानान्तरण गरिएको थियो भन्ने विषय भने अझै स्पष्ट नभएको पोस्टले जनाएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com