धनुषा । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध सामूहिक रूपमा अभियान सञ्चालन गर्न आह्वान गर्दै दाइजोका कारण अन्यायमा परेका व्यक्तिलाई आफूलाई सम्पर्क गर्न आग्रह गरेकी छन्।
धनुषाको ढल्केबरमा शनिबार आयोजित नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको उद्घाटन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथाले समाजमा गम्भीर समस्या निम्त्याइरहेकाले यसको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताइन्।
दाइजो लिएर वा दिएर विवाह गर्ने तथा दाइजोका लागि दबाब दिने कार्य कानुनविपरीत भएकाले त्यस्तो कार्य नगर्न उनले सबैलाई सचेत गराइन्। आफूले लामो समयदेखि दाइजो प्रथाविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले दाइजोका कारण कसैलाई अन्याय वा पीडा भएको भए आफूलाई जानकारी गराउन आग्रह गरिन्।
‘छोरीलाई दाइजो होइन, शिक्षा दिनुहोस्। छोराको विवाह गर्दा दाइजो नलिनुहोस्,’ उपसभामुख ठाकुरले भनिन्, ‘दाइजो समाजका लागि अभिशाप हो। यसको अन्त्य गर्न सबै मिलेर पहल गरौँ।’
उनले छोरी तथा बुहारीलाई शिक्षित बनाउन परिवार र समाजले प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्। दाइजो प्रथा अन्त्यसँगै ठाकुर समुदायको सामाजिक, शैक्षिक, आर्थिक तथा राजनीतिक उत्थानका लागि पनि आपसी सहयोग र एकता आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा सिरहा नाई समाजका श्यामकुमार ठाकुरले हजाम समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक विकासका साथै राज्यका हरेक निकायमा समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै उपसभामुख ठाकुरसमक्ष मागपत्र बुझाएका थिए।
प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार













प्रतिक्रिया